मुद्रास्फीति लक्ष्यभन्दा कम



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले राष्ट्र बैंकमा सरकारको २३३ अर्ब ५९ करोड रुपियाँ नगद मौज्दात रहेको जानकारी दिनुभएको छ। राष्ट्र बैंको ६२औं वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले उक्त जानकारी दिनुभएको हो।

उहाँले कुल सरकारी खर्च ४५ दशमलब ५ प्रतिशतले वृद्धि भएको र यसमध्ये चालू खर्च ४५ दशमलब ७ प्रतिशत र पुँजीगत खर्च १२२ प्रतिशतले वृद्धि भएको बताउनुभयो। आपूर्तिमा सहजता तथा कृषि उपजमा बढोत्तरीलगायतका कारण पछिल्ला महिनामा मुद्रास्फीति निरन्तर घट्दै गएको उल्लेख गर्दै चालू आर्थिक वर्षमा मुद्रास्फीति लक्षित ७ दशमलब ५ प्रतिशतभन्दा न्यून रहने बताउनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर नेपालले सरकारी वित्त स्थिति वैशाख ८ सम्म नगद प्रवाहमा आधारित सरकारको राजस्व परिचालन ४१ दशमलब ८ प्रतिशतले वृद्धि भई ४२६ अर्ब ५२ करोड पुगेको जानकारी दिनुभयो। यो वार्षिक लक्ष्यको ७५ दशमलब ४ प्रतिशत हो।

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ८ दशमलब ३ प्रतिशत र निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १ दशमलब ३ प्रतिशतले बढेको उल्लेख गर्दै वार्षिक विन्दुगत आधारमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २८ दशमलब ९ प्रतिशतले बढेको र चालू आर्थिक वर्षको नौ महिनामा राष्ट्र बैंकले पटक–पटक गरी १०१ अर्ब १० करोड तरलता प्रशोचन गरेको जानकारी दिनुभयो ।

गभर्नर नेपालले भन्नुभयो–‘फागुन मसान्तमा ‘क’ वर्गका २८, ‘ख’ वर्गका ५७, ‘ग’ वर्गका ३८ र ‘घ’ वर्गका ४८ गरी बैंक तथा वित्तीय संस्थाहरूको कुल संख्या १७१ रहेको छ। बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या ४७५९ पुगेको तथा मर्जर तथा प्राप्ति विनियमावली लागू भएदेखि चैत मसान्तसम्म १३६ वटा संस्था एक आपसमा गाभिएर ४४ वटा संस्था बन्न पुगेका छन्। २८ वटा बैंक तथा वित्तीय संस्थाहरूलाई एक आपसमा गाभिई ११ वटा कायम रहन सैद्धान्तिक सहमति प्रदान गरिएको छ। १६ वटा बैंक तथा वित्तीय संस्थाहरूलाई समस्याग्रस्त घोषणा गरिएकोमा ७ संस्था रिजोलुसनमा गइसकेकाले सो संख्या हाल ९ मा झरेको छ।

रिजोलुसनमा गएका ७ मध्ये दुईवटा समस्याग्रस्तबाट मुक्त भई नियमित वित्तीय कारोबार गरिरहेका छन्। हाल समस्याग्रस्त रुपमा रहेका ९ वटामध्ये ४ वटा संस्थाको शेयर स्वामित्व हस्तान्तरणको प्रक्रियामा रहेको छ। शेयर स्वामित्व हस्तान्तरणपछि राष्ट्र बैंकले तोकेको मापदण्डहरू पूरा गरेको अवस्थामा यी ४ वटा संस्थाहरू समस्याग्रस्तबाट मुक्त भई नियमितरुपमा कारोबार गर्न सक्ने छन्।’
त्यस अवसरमा उहाँले भूकम्प पीडितलाई २ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था अन्तर्गत हालसम्म आवासीय घर पुनर्निर्माणका लागि ६१ करोड २३ लाख २५ हजार पुनरकर्जा प्रदान गरिएको बताउनुभयो।

ब्याजदर करिडोर पद्धति मौद्रिक व्यवस्थापनलाई पारदर्शी, व्यवस्थित र आधुनिक बनाउने दिशामा प्रस्थान विन्दुको रुपमा उल्लेख गर्दै यसले तरलताको प्रभावकारी व्यवस्थापन र ब्याजदर स्थायित्व हासिल गर्न सहयोग पुग्ने उहाँले दाबी गर्नुभयो। केही समय अघि बैंकिङ क्षेत्रमा बढेको वित्तीय घर्षणले उत्पादनशील क्षेत्रतर्पm कर्जा प्रवाह अवरुद्ध नहोस् भन्ने उद्देश्यले उत्पादनशील क्षेत्र लगायत विपन्न वर्गमा प्रवाह हुने कर्जाको ५० प्रतिशतसम्मको रकमलाई २०७४ असार मसान्तसम्म विद्यमान ८० प्रतिशतको कर्जा–निक्षेप (प्राथमिक पुँजीसहित) अनुपात गणना गर्दा घटाउन पाउने व्यवस्था गरिएको गभर्नर नेपालको भनाइ थियो।

वार्षिकोत्सका अवसरमा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले राष्ट्र बैंकको मौद्रिक नीतिलाई आईएमएफ र विश्व बैंकबाट समेत प्रशंसा भएको बताउनुभयो। उहाँले रेमिट्यान्स घट्दै जानु, पुँजीगत खर्च कम हुनु चुनौती रहेको उल्लेख गर्दै सम्पत्ति शुद्धीकरणको प्रक्रियालाई तीव्र रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। डेपटी गभर्नर शिवाकोटीले चिनियाँ बैंकले नेपालमा शाखा खोल्ने प्रक्रिया र पूर्वाधार विकास बैंक स्थापना गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिँदै राष्ट्र बैंकले पाँच वर्षे रणनीति तयार गर्न लागेको र उक्त रणनीति अन्तिम अवस्थामा रहेको बताउनुभयो।

त्यस्तै नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकेशरी शाहले राष्ट्र बैंकले छलफल र अन्तक्र्रियामा जोड दिनुपर्ने बताउनुभयो। उहाँ छलफल र अन्तक्र्रिया भयो भने समस्या समाधान गर्न सहज हुनेमा जोड दिनुभयो। सरकारले चालू आर्थिक वर्षमा ल्याएको बजेट बास्तवै मेगा बजेट भएको भन्दै त्यसबाट हामी उत्साहित भएका थियौं तर पुँजी खर्च पर्याप्त नहुँदा अघिल्लो छ महिना केही समस्या देखिएको थियो तर राष्ट्र बैंकको नीतिका कारण अवस्था सहज भएको उहाँको भनाइ थियो।

वार्षिकोत्सवका अवसरमा राष्ट्र बैंकका चौंथो गभर्नर डा. भेषबहादुर थापा र राष्ट्र बैंकको मुद्रा डिजाइन, अनुसन्धानमा पाँच दशकदेखि सक्रिय संस्कृतिविद् सत्यमोहन जोशीलाई विशेष सम्मान गरिएको थियो। त्यस्तै राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा २० वर्ष पुगेका १७५ जना कर्मचारीलाई पनि सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्