छक्का पञ्जा–२ शुरू



रश्मी थापा

मेडी कलाकारहरुको निर्माण र सहभागीतमा बनको फिल्म छक्का पञ्जाको अपार सफलतापछि सोही नाममा फेरि अर्को फिल्मको निर्माणकार्य शुरु भएको छ।
आमा सरस्वती गीतादेवी फिल्मस प्रालिको ब्यानरमा दीपकराज गिरी र दीपाश्री निरौलाको प्रस्तुतिमा बन्ने छक्का पञ्जा–२ को बिहीबार भक्तपुरको सूर्यविनायकस्थित गणेश मन्दिरमा शुभ मुहूर्त गरी छायांकन शुरु गरिएको हो।

फिल्मलाई छक्का पञ्जाबाट डेब्यु गरेकी चर्चित हास्य अभिनेतृ दीपाश्री निरौलाकै निर्देशन गरेकी छिन्। फिल्ममा नायकको रूपमा स्वरूप पुरुष ढकाल नायिकामा स्वस्तिमा खड्काले प्रवेश पाएका छन् भने अन्य कलाकारहरुमा दीपकराज गिरी, प्रियंका कार्की, वर्षा राउत, केदार घिमिरे, बुद्धि तामाङ, शिवहरि पौडेललगायतकै पुराना कलाकारहरु नै रहेका छन्। फिल्मको कार्यकारी निर्माता विकास आचार्य हुन् भने अन्य निर्मातामा जितु नेपाल ‘मुन्द्रे’, माग्ने बुढो डट कम, तारा चन्द्र बजगार्इं र सुमन गीरी ‘भान्जा’ रहेका छन्। विकास आचार्य र सामिप्यराज तिमल्सिनाको कथा तथा दीपकराज गिरीको पटकथा र संवाद कीरण कँडेलको संगीत, हरिवंश आचार्य र आस्था राउतको स्वर, दीर्घ गुरुङको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी रहनेछ।

छक्का पञ्जाकै लोकप्रियता काफी छ

दीपकराज गिरी

छक्का पञ्जाले यति धेरै सफलता पाउनुको कारण के होला ?

हाम्रा फिल्मका कथाले सामाजिक घटनालाई पूर्णतया बोक्न नसकेको बेलामा छक्का पञ्जाले सामाजमा भइरहेको यथार्थ घटनालाई हुबहु बोकेको कारणले हुन सक्छ। मानिसलाई आफ्नो कथाजस्तो लाग्यो त्यस कारण पनि फिल्म चलेको हो।

यति धेरै सफल हुन्छ भन्ने सोच्नुभएको थियो ?

हा हा हा… डोनाल्ड ट्रम्पले पनि आफू अमेरिकाको राष्ट्रपति हुन्छु भनेर सोचेका थिएनन् होला। हाम्रो पनि आशा पछिल्लो चरणको फिल्म वडा नं. ६ जत्तिको चाहिँ हुन्छ होला भन्ने थियो। यो लेभलसम्म फिल्म चल्छ भनेर टिमका कुनै पनि सदस्यले सोचेको थिएनौं।

छक्का पञ्जा–२ मा निर्मल शर्मा र सीताराम कट्टेल नरहने भन्ने कुरा आयो। तपार्इंहरूबीच समस्या आएको हो ?

उहाँहरु फिल्ममा निर्माताको रूपमा हुनुहुन्थ्यो। अहिलेचाहिँ जसको कथावस्तु छ, उहाँहरुलाई निर्माताको रूपमा इन गर्नुपरेकाले निर्मल शर्मा निर्माताको रूपमा नआउनुभएको हो। सीताराम कट्टेलले चाहिँ विदेशमा कार्यक्रमहरु छ, भ्याउँदिन भने।

फिल्मले नसोचेको व्यापार गर्यो भनेर तपाईंहरुको टिममा फुट आएको भन्ने कुरा छ नि के यो सत्य हो ?

होइन फिल्मको व्यापारको कारणले फुटाएको भएदेखि तपार्इंले नाम लिएकाबाहेक लगभग ९० प्रतिशत मानिस सबै यहीं छन्। व्यापारले टिम फुटाएको भए त आधा मात्र पहिलेको टिम हुनुपर्ने हो नि।

यसमा निश्चल बस्नेत स्वस्तिमा खड्कालगायतका कलाकार थपिएका छन्। उहाँहरुको लोकप्रियतालाई पनि क्यास गर्न खोज्नु भा हो ?

होइन, हामीलाई छक्का पञ्जाको लोकप्रियता नै काफी छ र छक्का पञ्जाका कलाकारहरु नै छन्। यसले चाहिँ एउटा सौहार्दता तथा टिमअपको वातावरण बन्छ भनेर हो। नेपाली कलाकारहरु त कस्तो ? यिनीहरूबीच कम्पिटिसन मात्र हुन्छ भनिन्छ। तर, सँगसँगै एक्टिङ गर्छन् भन्नका लागि हो। फिल्ममा निश्चल बस्नेत अतिथि भूमिकामा हुनुहुन्छ भने स्वस्तिमालाई नायिकाको भूमिकामा राखिएको छ।

तपाईंलाई ६ एकान ६ देखि अहिलेसम्मका फिल्मको छायाँनिर्देशक भनिन्छ नि ?

हा हा हा… असिस्टेन्ट हो, छायाँजस्तै भन्नुपर्यो। फिल्महरुमा असिस्ट गरिरा छु। यो भनेको एक किसिमको छायाँ नै हो। होल टिम एक नभइकन सिनेमा सफल हुँदैन। मैले दिनेश डीसी, उज्वल घिमिरे दाइलाई पनि त्यसरी नै असिस्ट गर्थें। यसमा दीपाजीलाई असिस्ट गरेको हो।

छक्का पञ्जा–२ को विषेता के हुनेछ ?

हामीलाई यिनीहरु ग्रामीण भेगको कथालाई लिएर चलचित्र बनाउँछन् अनि फिल्मका घटनालाई गाम्भीरतापूर्वक लिँदैनन् भन्ने आरोप छ। त्यो भनाइको जवाफ यो फिल्ममा पाइनेछ हास्य र गाम्भीर्यता दुवै भएको मिश्रित कथावस्तुअनुसार फिल्म निर्माण हुनेछ।

छक्का पञ्जा जस्तै कमाइ यसले पनि गर्ला ?

म त्यही १६ करोड १८ करोडकै आँकडालाई नाघ्छ भन्दिनँ, तर सन्तुष्टिको आँकडाचाहिँ छुन्छजस्तो लाग्छ। पहिला दर्शकले जुन किसिमको सन्तुष्टि पाउनुभएको थियो, त्योभन्दा फरक किसिमको सन्तुष्टि प्रदान गर्नेछौं। लुट–२ को सिरिजबाट पनि के सिक्न सक्छौं भने जस्ताकोतस्तै त्यही घटनाहरुलाई देखायो भनेचाहिँ दर्शकलाई बोर लाग्ने रहेछ। अब हामी त्यो गल्ती गर्दैनौं।

भगवान्ले नै करिअरलाई विवाह गर भनेजस्तो छ


दीपाश्री निरौला

छक्का पञ्जा यति धेरै हिट हुन्छ भन्ने सोच्नुभएको थियो ?

त्यस्तो सोचिएको थिएन। ब्यानरले गर्दा पनि खाली ६ एकान ६ र वडा नं. ६ मा जति दर्शक आउनुहुन्छ होला भन्ने सोचेको थिएँ। छक्का पञ्जा नयाँ निर्देशकले गरेको के नै होला र भनेर मानिसले होपलेस पनि बनाइदिनुभएको थियो। छक्का पञ्जाले इनिसियलचाहिँ हान्छ होला, यति धेरै सफलता प्राप्त गर्ला भनेरचाहिँ सोचेको थिइएन। तर, सय दिन मनाउँछ भन्ने सोचेका थिएनौं, योचाहिँ आफैंमा अचम्मलाग्दो, अकल्पनीय कुरा भयो।

के कारण यति धेरै हिट भएको होला ?

हामीले उठाएको विषयस्तुलाई दर्शकले मन पराइदिनुभयो। वैदेशिक र सेक्सुअल विषयवस्तु उठाएका थियौं, जसको कारण अलिकति डर पनि लागिरहेको थियो के हुने होला भनेर। फिल्मलाई ल्यान्डिङचाहिँ राम्रो गर्नुपर्छ भनेर लागेका थियौं। हुन त पछि विभिन्न आरोपहरु पनि आयो, जे हो त्यही् कुरालाई चित्रण गर्दा कहिलेकाहीं आरोप खाइन्छ।

तपाईंले पहिलोपटक निर्देशन गरेको फिल्म यस्तो सुपर डुपर हिट भयो, अन्य फिल्मबाट निर्देशनको अफर आएन ?

बीचमा ३ वटा फिल्ममा निर्देशनका लागि अफर आएको थियो। तर, हामीले छक्का पञ्जा–२ पनि छिट्टै नै शुरु गर्ने कुरा थियो। नयाँ प्रोजेक्ट शुरु हुने भएपछि अरुको प्रोजेक्टभन्दा पनि आफ्नै टिमका लागि समय दिउँ भनेर अन्य प्रोजेक्टमा हात हालिनँ। मलाई लेखनको हिसाबले पनि दीपकजीको फिल्ममा काम गर्न निकै सजिलो लाग्ने भएकाले छक्का पञ्जा–२ लाई नै समय दिएँ।

निर्देशनमा सफल हुनुभएको छ, त्यसको कारण तपाईं स्वयं नै हो कि अरू कसैको हात छ ?

आफ्नो मेहनत त छँदै छ तर पनि फिल्मको मेरुदण्ड भनेको स्क्रिप्ट हो। त्यो स्क्रिप्टलाई न्याय दिने काम भनेको डाइरेक्टर, कलाकार र अन्य टिम मेम्बरको हो। स्क्रिप्ट राम्रो भएपछि त्यसलाई बगाउने कामचाहिँ डाइरेक्टरले गर्छ। त्यस कारणले आफ्नो मेहनत त छँदै छ सबैको मेहनत मिसिएर फिल्म राम्रो र म सफल भएको हुँ।

यो पनि छक्का पञ्जा जस्तै हिट होला ?

फिल्म हिट हुने⁄नहुने कुराभन्दा पनि हामीले एउटा राम्रो विषयवस्तुलाई उठान गरेका छौं। त्यो विषयवस्तु मलाई राम्रो लागेको छ र दर्शकलाई पनि राम्रो लाग्छ भन्ने मैले सोचेको छु। कमाइको हिसाबले छक्का पञ्जाकै रेकर्ड ब्रेक गर्छ चाहिँ भन्दिनँ तर विषयवस्तु मन पराइसकेपछि दर्शक आफैं आउनुहुन्छ र त कर्म गर्दै गर पैसा पछि लाग्छ भनेजस्तै हुनेछ।

सफल निर्देशकको छवि बनाइसक्नुभयो कलाकारितामा आउनुहुन्छ कि आउनुहुन्न ?

म निर्देशकभन्दा पनि पहिले कलाकार हँु। कलाकारिता मेरो नशा–नशामा छ। एउटा राम्रो कलाकार पनि एउटा राम्रँे निर्देशक हुन सक्दोरहेछ भन्ने कुरा म पढिरहन्थें। छक्का पञ्जाबाट चाहिँ हो रहेछ भन्ने फिल पनि गरेको छु। कलाकारिता त कहिल्यै अन्त्य हुँदैन।

कलाकारिता र निर्देशनको हिसाबमा यति माथि आइसक्नुभयो विवाहका बारे के सोच्नुभएको छ ?

विवाह त खै थाहै छैन। मलाई चाहिँ खाली फिल्म राम्रो निर्माण गर भन्नको लागि बिहे नभएको हो कि जस्तो लाग्छ। २५ वर्षसम्म मैले कलाकारितालाई पेसा बनाइरहँदा यति हिट फिल्म छक्का पञ्जा मेरो हातबाट जानु रहेछ र डेब्यु निर्देशकको उपाधि पाउनु रहेछ। सायद तैंले चाहिँ करिअरलाई विवाह गर भनेर भगवान्ले नै चाहनुभएको हो कि जस्तो लागिरहेको छ।

भन्नाले तपार्इंले पहिले नै बिहे गर्नुभएको भएचाहिँ यति सफल हुन सक्नुहुन्नथ्यो ?

सायद हुन्नथें होला। विवाह भनेको अर्को एउटा करिअर हो र त्यो करिअरलाई मैले न्याय दिन सक्दिनँ होला कि भनेर अनि कलाकारिताको भूतले गर्दा पनि विवाहको भूत अगाडि नआएकाले बिहे गरिनँ।

जीवनभर बिहे नै गर्नुहुन्न त ?

थाहा छैन भगवान्ले के चाहनुभा छ। किनभने आजभन्दा धेरै समयअघि म विवाह गर्न रेडी भएको मान्छे हो, त्यो समय मेरो बिहे भएन भनेपछि त सायद यही कर्म गरेर अगाडि बढ भनेर नै मलाई भगवान्ले तथास्तु भन्नुभएको हो कि? बुढी भए पनि तरुनी भए पनि कन्या नै राम्रो हो नि उमेरले तलमाथि त भई नै रहन्छ मन बुढो हुनु भएन।

प्रतिक्रिया दिनुहोस्