चुनाव सरेपछि उत्साह घट्यो



विमल विष्ट, डोटी

घेरै वर्षपछि स्थानीय तहको निर्वाचन हुने निश्चित भएपछि रोजगारीका लागि भारत पुगेकाहरू उत्साहित हुँदै भोट हाल्न घर फर्किएका थिए। तर निर्वाचनको नयाँ तालिका सार्वजनिक भएपछि जिल्ला फर्किएकाहरू मात्रै होइन, जिल्लाबासी नै निरास भएका छन्। यही वैशाख ३१ गते हुने भनिएको निर्वाचन एक महिना सरेपछि धेरैको उत्साह घटेको छ।

दिपायल–सिलगढी नगरपालिकाका स्थानीय बासिन्दा कैलास विकले भने– ‘चुवानमा मत हालौंला भनेर एक महिनाको मात्रै बिदा लिएर आयौं यता चुनाव सर्यो, उता बिदाको समय सकिँदै छ, कता जाने के गर्ने अन्योलमा पर्यौं।’ उनी मात्र होइन, जिल्ला फर्किएका अन्य धेरै दुविधामा छन्। मत हाल्न पाइने हो या होइन, यस्तै जिज्ञासा धेरैको छ। पछिल्लो समयमा रोजगारका लागि विदेशिएकाहरू उत्साहका साथ जिल्ला फर्किन थालेका थिए। निर्वाचनका मिति सरे पनि करिब २ सय नेपाली कामदार भारतबाट नेपाल फर्किने गरेका सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलले जनाएको छ।

सरकारले चुनाव सारे पनि डोटीका ग्रामीण क्षेत्रमा भने चुनावी चहलपहल भने बढिरहेको छ। जिल्लामा क्रियाशील राजनैतिक दलहरू अहिले आफ्ना चुनावी एजेन्डा बोकेर गाउँ–गाउँमा आमसभा तथा आफ्ना पार्टीका गतिविधि गर्न थालेपछि यहाँको चुनावी माहोल तातेको हो।

प्रतिक्रिया दिनुहोस्