दुई पार्टीले लगाए उम्मेदवारको टुंगो



धनवीर दाहाल, रुकुम

स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले र माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाएका छन्। नेपाली कांग्रेसले अझै उम्मेदवारको टुंगो लगाउन सकिरहेको छैन। नेकपा एमालेले सदरमुकाम मुसिकोटमा जिल्ला अध्यक्ष विमलकुमार पुनलाई मेयर र केशरी गौतमलाई उपमेयरको उम्मेदवार बनाएको छ।

त्यसै गरी चौरजहारी नगरपालिकाको मेयरमा पार्टीका केन्द्रीय सदस्य शेरबहादुर केसी र उपमेयरमा कल्याणी खड्कालाई उम्मेदवार बनाएको छ। पुन सानोठिमी क्याम्पसका पूर्व स्ववियु सभापति हुन् भने केसी २०६४ सालमा सभासद्को उम्मेदवार तथा तीनपटक पार्टीको जिल्ला नेतृत्व सम्हालेका नेता हुन्। स्थानीय स्तरमा दुवै परिपक्व र लोकप्रिय रहेकाले उनीहरूलाई अघि सारिएको पार्टीका कार्यकर्ता बताउँछन्।

त्यसै गरी आठबिसकोट नगरपालिकाको मेयरमा जिल्ला सचिव हरिप्रसाद शर्मा र उपमेयरमा भगवती शाही, सिस्ने गाउँपालिकाको प्रमुखमा प्रदेश कमिटी सदस्य नन्दलाल शर्मा र उपप्रमुखमा नुमिन्द्रा खड्का, पुथा गाउँपालिकाको प्रमुखमा भिउमान घर्ती र उप–प्रमुखमा सीता घतानी, बाँफीकोट गाउँपालिकाको प्रमुखमा विद्यापति रिजाल र उप–प्रमुखमा व्युधना पुन उम्मेदवार बनेका छन्। सो पार्टीले त्रिवेणी गाउँपालिकाको प्रमुखमा गणेश खड्का र उपप्रमुखमा कल्पना ओली तथा सानोभेरी गाउँपालिकाको प्रमुखमा मनवीर घर्ती र उपप्रमुखमा लक्ष्मी केसी उम्मेदवार बनाएको छ। त्यस्तै भूमे गाउँपालिकामा ढाँटी सुनार (आशा) लाई प्रमुख र कमानसिंह डाँगीलाई उपप्रमुखमा उम्मेदवार छनोट गरेको हो।

माओवादी केन्द्रले मुसिकोट नगरपालिकामा देवीलाल गौतमलाई मेयर र प्रेमकुमारी केसीलाई उपमेयर, चौरजहारी नगरपालिकामा विशाल शर्मालाई मेयर र राधा रोकालाई उपमेयरका रूपमा अगाडि सारेको छ। आठबिसकोट नगरपालिका मेयर गोरखबहादुर केसी र उपमेयर गीता नेपाली, सानीभेरी गाउँपालिका प्रमुख नरबहादुर पुन र उपप्रमुख इन्दिरा बिसी, त्रिवेणी गाउँपालिका प्रमुख भक्कुप्रसाद घर्ती र उपप्रमुख निर्मला विष्ट सिफारिस भएका छन्।

त्यस्तै बाँफीकोट गाउँपालिका प्रमुख धर्मबहादुर केसी र उपप्रमुख मनकला पुन, सिस्ने गाउँपालिका प्रमुख कुमारी बराल र उपप्रमुख गोवद्र्धन बुढा, भूमे गाउँपालिका प्रमुख रामसुर बुढा र उपप्रमुख मनकुमारी बुढा विष्टको नाम सिफारिस भएको छ। सो पार्टीले पुथा उत्तरगंगा गाउँपालिका प्रमुखमा ओम प्रकाश घर्ती र उपप्रमुखमा ओमकुमारी मल्ललाई अगाडि सारेको छ। नेपाली कांग्रेसले भने अझै गाउँ तथा नगरपालिकाका उम्मेदवारको टुंगो लगाएको छैन। आसन्न निर्वाचनका लागि रुकुममा १ लाख १ हजार ९ सय ३२ जना मतदाता रहेका रहेका छन्। जिल्ला निर्वाचन कार्यालय रुकुमका अनुसार जसमा ५१ हजार १ सय ५३ महिला र ५० हजार ७ सय ७८ पुरुष छन्। २०७० सालको संविधानसभा निर्वाचनमा भन्दा १५ हजार ५ सय ६० मतदाता बढेका छन्। विभिन्न १३ दल निर्वाचन कार्यालयमा दर्ता भएका छन्।

प्रमुखमा एक मात्र दलित महिला


निर्वाचनमा प्रमुख पदको उम्मेदवारमा जिल्लाबाट एक मात्र दलित महिला आसा सुनार छनोट भएकी छन्। नेकपा एमालेले रुकुमको भूमे गाउँपालिका प्रमुखको उम्मेदवारका रूपमा उनलाई अघि सारेको हो। सोही गाउँपालिकाकी स्थानीय आशा लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय छिन्। पार्टीको साधारण सदस्यदेखि हाल उनी भूमे गाउँपालिकाको संयोजक छिन्।

दलित त्यसमा पनि महिला हुँदा धेरै चुनौतीको सामना गर्दै राजनीतिलाई पेसा बनाएकी आशाले हाल भूमे गाउँपालिकाको प्रमुखको उम्मेदवारी हुँदा निकै खुसी र दलित समुदायको गर्वको महसुस गरेको बताइन्। ‘मैले सानैदेखि पार्टीमा गरेको योगदानको कदर भएको छ’, उनले भनिन्– ‘पार्टीको यो निर्णयले म निकै खुसी छु, निर्वाचन जित्ने गरी मैले र पार्टीले अभियान चलाइरहेको छ।’

प्रतिक्रिया दिनुहोस्