रहेनन् बलिउडका दयावान्



बलिउड अभिनेता तथा सांसद विनोद खन्नाको निधन भएको छ। मुम्बईको सर एच एन रिलायन्स फाउन्डेसन अस्पतालले खन्नालाई एडभान्सड ब्लाडर कार्सिनोमा भएको र बिहीबार ११ बजेर २० मिनेमा अन्तिम श्वास फेरेको जनाएको बीबीसीको अनलाइन सेवाले उल्लेख गरेको छ। उनले ७० वर्षको उमेरमा उपचारका क्रममा अन्तिम श्वास फेरेका हुन्।

उनलाई यसै महिनाको शुरुआतमा अस्पताल भर्ना गरिएको थियो। जसलाई गोप्य राखिएको थियो। केही दिनपछि दुब्ला, अत्यन्त कमजोर र चिनिनै नसकिने अवस्थाको उनको तस्वीर अनलाइनमा भाइरल बन्न पुगेको थियो। उनका पुत्र राहुल खन्नाले भने विनोदलाई पानीको कमी भएकाले अस्पताल भर्ना गरिएको जनाएका थिए। बजारमा भने उनलाई रक्त क्यान्सर भएको चर्चा चलेको थियो। त्यसको केही दिनपछि उनको कान्छो छोरा अक्षय खन्नाले विनोदको स्वास्थ्यमा सुधार आएको जनाएका थिए।

१९४६ मा पाकिस्तानको पेसावरमा जन्मिएका विनोदले १ सय ४० भन्दा बढी बलिउड फिल्ममा अभिनय गरेका थिए। १९६८ मा सुनील दत्तको फिल्म मन का मितबाट फिल्मी करियर शुरू गरेका खन्नाको फिल्म फिल्म एक थि रानी ऐसी भि यसै महिना रिलिज भएको थियो। करियरको शुरुआती दिनमा उनले सहायक अभिनेता र खलनायकको भूमिकामा अभिनय गरेका थिए। ७० को दशकमा बलिउडमा विनोदको दबदबा थियो। खलनायकका रूपमा करियर शुरु गरेका उनी पछि नायकका रूपमा छाएका थिए। अमिताभ बच्चन र उनीबीच नम्बर वनको सिंहासनमा बस्नका लागि प्रतिस्पर्धा चलेको थियो।

नेपालसँग पनि नजिक रहँदैआएका खन्नाका मेरे अपने, दयावान, कुर्बानी, मेरा गाउँ मेरा देश, मुकद्दर का सिकन्दर, लेकिन, हेराफेरि अमर अकबर एन्थनी, जुर्म, चाँदनी, क्षत्रीयजस्ता फिल्मका भूमिकालाई बलिउडमा अहिले पनि सम्झिने गरिन्छ। उनी आफ्नो करियरको शिखर दौड अचानक अभिनय क्षेत्रबाट बिदा लिई आध्यात्मिक गुरू रजनीशको शिष्य बन्न पुगेका थिए। उनी त्यसपछि पनि बलिउड फिल्ममा फर्किएका थिए। तर, पहिलेजस्तो सफलता भने पाउन सकेका थिएनन्।
सन् १९९७ मा भारतीय जनता पार्टीमा सामेल हुन पुगेका उनी पन्जावको गुरदासपुर सिटबाट उनले १९९८, १९९९, २००४ र २०१४ मा लोकसभा चुनाव जितेका थिए भने २००९ को चुनावमा पराजय भोगेका थिए। उनी राजनैतिक दौडका क्रममा मन्त्रीसम्म भएका थिए। उनले अटल विहारी बाजपेयी सरकारमा पर्यटन र संस्कृतिमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनलाई विदेश राज्यमन्त्रीको जिम्मेवारी पनि दिइएको थियो।

विनोदका रोचक प्रसंग
पाकिस्तानमा जन्मिएका विनोदका एक भाइ र तीन बहिनी थिए। स्वतन्तत्रापछि उनी पाकिस्तानबाट मुम्बई गएका थिए।

उनी बाल्यकालमा असाध्यै लजालु थिए। विद्यालय जीवनमा उनलाई एक शिक्षकले जबरजस्ती नाटकमा अभिनय गर्न लगाएका थिए र त्यसपछि विनोद अभिनयप्रति लालयित भएका थिए।

विनोदका पिता आफ्ना छोरा फिल्ममा नजाओस् भन्ने चाहन्थे। विनोदको जिद्दीका अगाडि झुकेर पितालाई उनलाई फिल्म क्षेत्रमा जानका लागि केवल २ वर्षको समय दिएका थिए। विनोदले त्यसबीचमा मेहनत गरी फिल्म क्षेत्रमा आफ्नो स्थान बनाएका थिए।

राजेश खन्ना विनोदलाई असाध्यै मन पराउँथे। ह्यान्डसम विनोदलाई सन् १९६८ मा सुनील दत्तले मनका मितमा भिलेनका रूपमा लन्च गरेका थिए। सुनीलले त्यो फिल्म आफ्ना भाइलाई हिरोको रूपमा प्रस्तुत गर्न बनाएका थिए। उनका भाइ पछाडि परे, विनोद भने अगाडि आए।

पछि सहकलाकारका रूपमा देखिँदै आएका विनोद गुलजारको मेर अपने (१९७१) बाट चर्चामा आए र उनी हिरोका रूपमा देखिन थाले।

विनोदलाई मल्टिस्टार फिल्ममा समस्या थिएन। त्यसैले उनी अमिताभ बच्चन, सुनील दत्त, राजेश खन्नाजस्ता धेरै कलाकारका साथ फिल्ममा देखिन्थे। अमिताभ बच्चन र उनको जोडी निकै जम्न पुगेको थियो। यो जोडीको हेराफेरी, खुन पसिना, अमर अकबर एन्थोनी, मुकद्दरका सिकन्दर ब्लकबस्टर सावित भयो।
सफलतामा शिखरमा रहेका बेला विनोदले १९८२ मा अचानक ग्ल्यामर दुनियाँलाई छोडेर आध्यात्मिक गुरू रजनीश (ओशो) को शरण लिए। जहाँ उनले भाँडा माझ्नेदेखि लिएर मालिससम्मको काम गरे।

विनोद यसरी अचानक ओशोको आश्रमको शरणमा पुगेपछि उनको पत्नी गीताञ्जली रिसाइन् र यसैका कारण उनीहरुबीच सम्बन्ध विच्छेद भयो। विनोद र गीताञ्जलीको दुई छोरा अक्षय र राहुल खन्ना छन्। १९९० मा विनोदले कवितासँग विवाह गरे। कविता र विनोदको एक छोरा साक्षी र छोरी श्रद्धा छन्।
फिल्मप्रतिको मायाका कारण ओशोका आश्रमबाट फर्किएपछि विनोदले १९८७ मा इन्साफ नामक फिल्मबाट रि इन्ट्री गरे। ४⁄५ वर्ष नायकका रूपमा देखिएपछि उनी विस्तारै चरित्र भूमिकाप्रति ढल्किए।

उनी सलमान खानको धेरै फिल्ममा पनि देखिएका छन्। सलमान विनोद आफ्ना लागि लक्की ठान्थे।

विनोद बलिउड फिल्म क्षेत्रमा स्टाइलिस अभिनेताका रूपमा प्रस्तुत हुन्थे।

प्रतिक्रिया दिनुहोस्