एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल



नेपाल समाचारपत्र
लमजुङ
लमजुङमा घोषित स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ। दुवै दलको आयोजनामा जिल्ला सदरमुकाममा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सो घोषणा गरिएको हो। एमालेका जिल्ला अध्यक्ष धनञ्जय दवाडी र माओवादी केन्द्रका जिल्ला इन्चार्ज पारसमणि पौडेलले संयुक्त हस्ताक्षर गरी वितरण गरेको प्रेस विज्ञप्तिमा आसन्न स्थानीय तह निर्वाचनमा हामी दुई दल संयुक्त मोर्चा बनाएर अघि बढ्न प्रतिबद्ध छौँ भन्ने उल्लेख छ।

लमजुङमा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो शक्ति मानिन्छ। कांग्रेसले कसैसँग तालमेल नगर्ने भने पनि माओवादीलाई एमालेसँग मिल्नुपर्ने बाध्यता सिर्जिएको बताइन्छ। २०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनमा नेपाली कांग्रेसको एकलौटी वर्चश्व रहेको थियो। जिल्ला विकास समितिको निर्वाचनमा एक सदस्य पदमात्र नेकपा एमाले जितेको थियो। दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा २०४८, २०५१ र २०५६ सालमा भएका आम निर्वाचनमा पनि दुवै सिटमा कांग्रेसले जितेको थियो।

२०५४ सालमा भएको स्थानीय तह निर्वाचनमा जिल्ला विकास समितिको निर्वाचन हुँदा कांग्रेसका स्थिरबाबु घिमिरे र गमप्रसाद गुरुङले विद्रोह गरी एमालेसँग तालमेल गरेपछि एमालेका जमिन्द्रमान घले सभापति (हाल सांसद), स्थिरबाबु घिमिरे उपसभापति र गमप्रसाद गुरुङसहित एमालेको एकलौटी जित हात लगायो। कांग्रेसले एक मात्र जिविस सदस्य पदमा चित्त बुझाउन पर्यो।

२०६४ सालको संविधानसभा निर्वाचनमा दुवै पद कांग्रेसले गुमायो। क्षेत्र नं १ बाट माओवादीका बुद्धिराम तमु र क्षेत्र नं २ बाट एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी हुनुभयो। २०७० सालमा सम्पन्न संविधानसभा निर्वाचनमा क्षेत्र नं १ बाट एमालेका जमिन्द्रमान घले र क्षेत्र नं २ बाट नेपाली कांग्रेसका चन्द्रबहादुर कुँवर विजयी हुनुभएको छ।

यति बेला जिल्लाबाट ६ जना सांसद चयन भएकामध्ये कांग्रेसका दिलबहादुर घर्ती, एमालेका डा. भीष्मनाथ अधिकारी र टुका हमाल अनि माओवादी केन्द्रबाट लालबहादुर तमु हुनुहुन्छ। हाल घोषित स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र र प्रमुख विपक्षी एमालेबीच संयुक्त मोर्चाको घोषणा भएपछि कांग्रेसलाई धक्का लाग्न सक्ने देखिएको छ। एमाले र माओवादीबीचको संयुक्त मोर्चा बनाउने घोषणा गर्दै जारी वक्तव्यमा केही नभनिए पनि जिल्लामा रहेका ८ स्थानीय तहमध्ये एमालेले ५ र माओवादी केन्द्रले ३ वटा लिने दुई दलका बीचमा सहमति भएको छ।

समझदारी अनुसार माओवादीले दूधपोखरी र दोर्जी गाउँपालिकाको प्रमुख र मध्यनेपाल नगरपालिकाको मेयर पाउने सहमति भएको छ। माओवादीले प्रमुख लिएको तीनवटै स्थानीय तहको उपप्रमुख एमालेको भागमा परेको छ। एमालेले प्रमुख लिएको तीन स्थानीय तहको उपप्रमुख माओवादीले पाउनेछ। माओवादी केन्द्रले राइनस र सुन्दरबजार नगरपालिकाको उपमेयर तथा मस्र्याङ्दी गाउँपालिकाको पनि उपप्रमुख लिने समझदारी भएको छ।

बाँकीमा दुई स्थानीय तहको प्रमुख र उपप्रमुख दुवै एमालेले दिनेछ र त्यहाँ माओवादी केन्द्रले एमालेलाई सघाउने समझदारी गरिएको छ। दुई पार्टीबीच आ–आफ्नो भागमा परेको पदमा मात्र उम्मेदवार उठाउने, चुनावको प्रचारप्रचार तथा सभा समारोहको अभियान संयुक्त रूपमा चलाउने समझदारी भएको छ।

प्रतिक्रिया दिनुहोस्