आगलागीमा ४० घर खरानी



?

नेपाल समाचारपत्र
चन्द्रौटा
कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. ४, साविक पत्थरदेइया ६, महिलवार गाउँ नौ वर्षपछि फेरि खरानीमा परिणत भएको छ। चर्को गर्मीसँगै अति वेगले चलेको हावाहुरीका कारण दिउँसो साढे ३ बजे आगलागी भएको हो। स्थानीय गंगाराम कोहारको घरमा भुजा भुट्ने क्रममा खरको झुप्रोमा आगो सल्किएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक खिमबहादुर घर्तीमगरले जानकारी दिनुभयो।

गाउँको पश्चिमपट्टि कुनाबाट सल्किएको आगोले पूर्वतर्फको सम्पूर्ण घरगोठ जलेर नष्ट भएको छ। आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, गहना, रुपियाँपैसा समेत जलेर नष्ट भएको स्थानीय बस्सराज यादवले बताउनुभयो। आगलागीबाट झन्डै ४० ओटा घरगोठ खरानीमा परिणत भएको छ भने ४ वटा बाख्रा, एउटा भैंसीको पाडो जलेर मरेका छन्। यसै गरी विवाह मनाउन स्थानीय हरिराम कोहारको घरमा घरमा गएकी शिवराज नगरपालिका–८, कोटवाकी ६० वर्षीय वृद्धा बन्सी प्रजापति घाइते हुनुभएको छ। घाइते वृद्धालाई शिवराज अस्पताल बहादुरगन्जमा सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा रिफर गरिएको प्रहरी निरीक्षक घर्तीले बताउनुभयो।

आगोले विद्यालयमा अध्ययनरत बालबालिकाले भर्खरै पाएका नयाँ किताब कापी, ड्रेसलगायतका शैक्षिक सामग्री सम्पूर्ण जलेर नष्ट भएको बताइएको छ। खेत खरिहानमा राखिएका पराल, अन्नपातसमेत जलेर नष्ट भएको स्थानीय लेखनाथ पाण्डेले बताउनुभयो। दिउँसो साढे ३ बजे लागेको आगो साँझ साढे ६ बजेपछि नियन्त्रणमा आएको थियो। कृष्णनगरबाट आएको दमकल, विसुनपुर बेसक्याम्पका सशस्त्र प्रहरी निरीक्षक पूर्णबहादुर कँुवरसहित सशस्त्र प्रहरीको टोली, इलाका प्रहरी कार्यालय गणेशपुर र जगदीशपुर इलाका प्रहरी कार्यालयका प्रहरी टोली र स्थानीय बासिन्दामा आगो नियन्त्रणमा आएको थिए। यसअघि २०६५ साल वैशाख ८ गतेसमेत सो बस्तीमा आगलागी हुँदा झन्डै करोडको धनमाल जलेर नष्ट भएको थियो।

प्रतिक्रिया दिनुहोस्