म्यादीलाई प्रहरीकै पोसाक छोटो समय भएकाले टेन्डर गर्न नभ्याइएको जनाऊ



सन्तोष खनाल, काठमाडौं
वैशाख ३१ र जेठ ३१ गते दुई चरणमा हुने स्थानीय तह निर्वाचनका लागि खटिने म्यादी प्रहरीले हाल प्रहरीले लगाउने गरेको निलो रंगको पोसाक लगाउने भएका छन्।

दुई चरणमा हुने स्थानीय तहको निर्वाचनका खटिने मुलुकभरका ७५ हजार म्यादी प्रहरीले एकै किसिमको यस्तो पोसाक लगाउन लागेका हुन्। पोसाक खरिदका लागि कम्तीमा १५ दिने टेन्डर आह्वान गर्नुपर्ने कानुनी प्रावधान रहेको छ। टेन्डर भएको सात दिनभित्र ठेकेदार कम्पनी छनोट गर्नुपर्छ।

सबै प्रक्रिया पूरा गर्ने समय नभएर म्यादी प्रहरीमा नियुक्त भएका सबैले आफै पोसाक किन्नुपर्ने व्यवस्था गरिएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले बताउनुभयो। सरकारले पोसाक भत्ताबापत दिएको पैसाबाट आफैले पोसाक किनेर लगाउनुपर्ने व्यवस्था मिलाएको उहाँको भनाइ छ।

निजामती कर्मचारी, शिक्षकजस्तै तरिकाले तोकिएको पोसाक आफै म्यादी प्रहरीले किनेर लगाउनुपर्ने व्यवस्था गरिएको प्रवक्ता पन्थीको भनाइ छ। ‘म्यादी प्रहरीले आफै पोसाक किन्नुपर्छ, सरकारले पोसाक भत्ता उपलब्ध गराएको छ। त्यसैबाट किन्ने हो’, प्रवक्ता पन्थीले भन्नुभयो– ‘नेपाल प्रहरीलाई पोसाक छनोटको जिम्मा छ। त्यहीअनुसारको पोसाकको व्यवस्था आफै गर्नुपर्दछ।’

म्यादी प्रहरी भन्नेबित्तिकै प्रहरीकै सहयोगी भएको हुनाले पनि उनीहरूलाई अनिवार्य पोसाक चाहिने र पोसाकबिना काम गर्दा प्रहरीलाई नै गाह्रो हुने भएकाले पनि अनिवार्य पोसाक उपलब्ध गराउन लागिएको हो।

सार्वजनिक खरिद ऐन २०६३ अनुसार १० लाख रुपियाँ भन्दा बढी मूल्य बराबरको सामान खरिद गर्नुपर्दा बोलपत्र आह्वान गर्नुपर्ने प्रावधान छ। चुनाव आउन १६ दिन मात्र बाँकी रहेकाले कानुनी प्रक्रिया पूरा गरेर पोसाक किन्न सक्ने अवस्था छैन।

७५ हजार प्रहरीका लागि धेरै रकमको बोलपत्र गर्न र कानुनी प्रक्रियाअनुसार टेन्डर खोल्न समय नभएपछि तोकिएको पोसाकको व्यवस्था आफै गर्ने गरी प्रहरीले काम थालेको छ। सरकारले म्यादी प्रहरीले ५५ दिनको तलबबापत ५१ हजार रुपियाँ पारिश्रमिक दिने जनाएको छ।

उनीहरूले पोशाक भत्ताको रूपमा थप ७ हजार १ सय रुपियाँ पाउँनेछन्। यस पटक अघिल्लो निर्वाचनमा जस्तो सरकारले पोशाक सिलाएर नदिने भएकाले नेपाल प्रहरीले तोकिदिएको मापदण्डअनुसार म्यादी प्रहरीले आफैं पोशाक किन्नुपर्ने भएको हो।

म्यादी प्रहरीले हाललाई प्रहरीले नै लगाइरहेको नीलो रंगको पोसाक लगाउने व्यवस्था मिलाइएको प्रहरी प्रवक्ता एसएसपी सर्बेन्द्र खनालले जानकारी दिनुभयो। उहाँका अनुसार प्रहरीले हाल लगाएकै पोसाकमा प्रहरीले पाउने दज्र्यानी चिन्ह नभएको पोसाक म्यादी प्रहरीको हुनेछ। म्यादी प्रहरीको पोसाकमा उनीहरूको नामसमेत हुने प्रबक्ता खनालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। यसपटक ७५ हजार म्यादी प्रहरी भर्ना भएकामा यस अघिका चुनावमा भने सरकारले ३५ देखि ४५ हजार जनासम्म म्यादी प्रहरी लिने गरेको थियो।
म्यादी प्रहरीलाई नेपाल सरकारले ५५ दिनको तलबवापत ५१ हजार रुपियाँ पारिश्रमिक, पोशाक भत्ताको रूपमा थप ७ हजार १ सय रुपियाँका अतिरिक्त निर्वाचनमा खटिँदा उनीहरूले प्रतिदिन २ सय ५० रुपियाँका दरले ७ दिनको १७ सय ५० रुपियाँ थप भत्ता र निर्वाचन अवधिभर प्रतिदिन २ सय ५० रुपियाँको दरले सरकारले खाजा खर्च पनि उपलब्ध गराउनेछ।

त्यसै गरी म्यादी प्रहरीका लागि सरकारले विशेष बीमाको व्यवस्थासमेत गरेको छ। निर्वाचन अवधिभर ५५ दिनका लागि प्रति म्यादी प्रहरी २ लाख बराबरको दुर्घटना बीमा, १ लाख ५० हजार रुपियाँसम्मको स्वास्थ्य बीमा र बिरामी परेमा १ लाख ५० हजारसम्मको उपचार खर्चको पनि व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्