निर्वाचन भाँड्ने उद्देश्यले संशोधनः ओली



नेपाला समाचारपत्र
काठमाडौँ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन भाँडने उद्देश्यका साथ सरकारले संविधान संशोधनको प्रस्ताव ल्याएको उल्लेख गर्नुहुँदै त्यसको दोष एमालेलाई दिने दुष्प्रयास भएको आरोप लगाउनुभएको छ।
नेकपा एमाले केन्द्रीय प्रचार विभागले आयोजना गरेको राष्ट्रिय प्रचार भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले चुनाव भन्दै चुनावको आवरणमा तराई र पहाडलाई छुट्टाउने, सरकारी कामकाजको भाषा भनेर अरू भाषा पनि घुसाउने षड्यन्त्र भइरहेकाले त्यसलाई एमालेले कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने बताउनुभयो। सरकारले सिमाङ्कन हेरफेरमा प्रदेशको सहमतिसमेत नचाहिने, कामकाजको भाषा भनेर नेपाली भाषाबाहेकका भाषाहरूलाई पनि मान्यता दिने जस्ता राष्ट्रहित विपरीत प्रस्ताव ल्याएकाले त्यसको विरुद्ध दृढता र स्पष्टतापूर्वक उभिन कार्यकर्तालाई निर्देशन दिनुभयो। उहाँले संसद्को दुई तिहाइले संशोधन गर्नुपर्ने संविधानको प्रावधानलाई एउटा आयोग बनाएर संशोधन, थपघट गर्दै अनुसूचिमा राख्ने काम भएकाले त्यसमा सबै सर्तक हुनुपर्ने बताउनुभयो।

अध्यक्ष ओलीले एक, दुई या तीन चरण, बजेट अघि या पछि जसरी जहिले भए पनि चुनाव हुने र एमालेले जसरी पनि चुनाव गराउने बताउनुभयो। अध्यक्ष ओलीले सरकार एमालेका कारण चुनाव नहुने हल्ला चलाउने र चुनावको बहानामा राष्ट्रहित विपरीतका काम गर्दै जाने षड्यन्त्रमा रहेको उल्लेख गर्नुहुर्दै त्यसलाई चिरेर एमाले अगाडि बढ्ने दृढतासमेत व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्