दक्ष जनशक्ति अभावले पुनर्निर्माणमा ढिलाइ



नेपाल समाचारपत्र
हेटौंडा
भूकम्पपछिको पुनर्निर्माण कार्यमा ढिलाइ हुनुको मुख्य कारण दक्ष जनशक्ति अभाव र झन्झटिलो कागजी प्रक्रिया रहेको औंल्याइएको छ।

भूकम्प–२०७२ को दोस्रो स्मृति दिवसको सन्दर्भमा हेटौंडामा आयोजित कार्यक्रममा भूकम्पपछिको राहत र उद्धारमा चुस्तदुरुस्त देखिए पनि पुनर्निर्माणमा ढिलाइ हुनुको मुख्य कारण दक्ष जनशक्ति अभाव र लामो कागजी प्रक्रिया भएको निष्कर्ष निकालिएको हो।

‘भूकम्पपछि पुनर्निर्माणका लागि आवश्यक पर्ने दक्ष जनशक्ति अभाव छ। पुनर्निर्माणका लागि सरकारबाट घोषणा गरिएको अनुदान प्राप्त गर्नका लागि पनि समस्या देखिएको छ। सरकारबाट हुने नीतिनियम परिवर्तनले पनि धेरै समस्या सिर्जना भएको छ’ –गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालले जिल्लाले गर्नुपर्ने काम गरे पनि पुनर्निर्माण प्राधिकरणबाट हुनुपर्ने काम रोकिँदा समस्या भएको टिप्पणी गरे।

प्रमुख जिल्ला अधिकारी नारायण शर्मा दुवाडीले भूकम्पपछिको पुनर्निर्माण सोचेजस्तो नभएको बताए। ‘काम हुँदै नभएको होइन तर, भनेजस्तो काम भएन। दुई वर्षमा जति काम हुनुपर्ने थियो, त्यो भएन। अन्य जिल्लामा पनि अवस्था त्यस्तै छ’ –प्रजिअ दुवाडीले समस्या पहिचान गर्दै समाधानका लागि अब चुस्तदुरुस्तरूपमा अगाडि बढ्नुपर्ने बताए। ‘गाउँमा जनशक्ति अभाव भएको छ। लालपुर्जा नभएकाहरूको समस्या समाधान गर्न सकेका छैनौं। यस विषयमा प्राधिकरणलाई जानकारी गराएका छौं। गुनासो समाधान पनि अझै बाँकी छ। यसबीचमा धेरै काम गरेको भए पनि देखिने गरी भने काम भएको छैन’ –प्रजिअ दुवाडीले उत्साहजनक नभए पनि केही काम भएको दोहोर्याए।

भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाका प्रमुख सुदीप आचार्यले प्रत्येक गाविसमा प्राविधिक परिचालन भए पनि पुनर्निर्माण नभएको बताए। उनका अनुसार पुनर्निर्माणका लागि निःशुल्क प्राविधिक सेवा लाभग्राहीले लिन नसक्दा समस्या देखिएको छ। ‘प्राविधिकसँग सल्लाह गरेर भौतिक पूर्वाधार गर्दा पछि समस्या आउँदैन’ –उनले भने। पुनर्निर्माण जिल्ला शिक्षा एकाइका हरिशचन्द्र सापकोटाले हालसम्म जिल्लामा प्राधिकरणमार्फत् ६ वटा विद्यालयमा भवन निर्माणको सम्झौता भएर काम भइरहेको बताए। त्यसका लागि ३ करोड ७८ लाख रुपियाँ विनियोजन भइसकेको छ। प्राविधिक सुझाव र तोकिएको मापदण्डअनुसार जिल्लामा विद्यालयका २ सय २० कोठे भवन निर्माण हुनेछन्। सहभागीहरूले मकवानपुर चट्याङ प्रभावित क्षेत्र भएकाले चट्याङप्रतिरोधी भवन जरुरी रहेको औंल्याएका थिए। कतिपयले पुनर्निर्माण प्राधिकरणले तयार पारेको भन्दा पनि भौगोलिक अवस्था र रहनसहनअनुसार भवन बनाउनुपर्ने बताएका थिए।

मकवानपुरमा भूकम्पपश्चात् ३ सय ५० वटा भवन हालसम्म पुनर्निर्माण भएका छन्। जिल्लामा हालसम्म ३० हजार २ सय ३८ लाभग्राही रहे पनि २१ हजार ९ सय १४ जनाले अनुदान सम्झौता गरेका थिए। हालसम्म २० हजार ६ सय ९३ जनाले अनुदान सम्झौताअनुसार पहिलो किस्ता लगेका छन्। हालसम्म ६ हजार ६ सय ५१ जनाले दोस्रो किस्ता लगेका छन् भने २ सय ८९ जनाले तेस्रो किस्ताबापतको अनुदान रकम लगिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्