पाँच सेवा एकैसाथ सञ्चालनमा



नेपाल समाचारपत्र
भद्रपुर
नेपालमै पहिलोपटक झापाको भद्रपुरस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले पञ्चकर्म, क्षारसूत्र, योग, प्याथोलोजी र फार्मेसी सेवा एकैसाथ सञ्चालनमा ल्याएको छ। झापासहित मेची अञ्चलका बिरामीहरू भारतीय बजारमा धाउँदै चर्को शुल्क तिनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सरकारी आयुर्वेद स्वास्थ्य केन्द्रले उक्त सेवाहरू सञ्चालनमा ल्याएको हो।

आयुर्वेद स्वास्थ्य केन्द्रले वैशाख ३ गतेदेखि सेवाहरू विस्तार गरी सञ्चालनमा ल्याएको छ। आयुर्वेद चिकित्सा पद्धतिबाट हुने उपचारमा आम मानिसले विश्वास गर्न थालेपछि आयुर्वेद विभागले नीतिगत सहमति दिएपछि केन्द्रको निर्णयले सेवा विस्तार गरेको कार्यालय प्रमुख डा. केनिन राईले बताए। बिरामीको सेवालाई मध्यनजर गर्दै केन्द्रले आन्तरिक बजेट र सहयोग अनुदानबाट संकलित १० लाखबाट उपचार सेवाहरू थप गरेको उनले बताए। यसअघि केन्द्रले ओपीडी सेवाबाट बिरामी जाँच्ने र औषधि दिने काम गर्दै आइरहेको थियो। यो उपचार पद्धति ल्याएसँगै अब पायल्स, फिस्टुला, पिनास, आँखा, टाउको दुख्ने, मलद्वारलगायत रोगका उपचार सहजै रूपमा निको पार्न सकिने उनको भनाइ छ। केन्द्रमा ज्ञान, सीप र दक्षता भएका चिकित्सकमध्ये आयुर्वेद निरीक्षक एक जना, तीन जना वैद्य र एक जना कविराजले गुणस्तरीय आयुर्वेद सेवा प्रदान गर्दै आइरहेको उनको भनाइ छ।

पञ्चकर्म र क्षारसूत्र उपचार पद्धतिले शरीरको मल, मूत्र र रगतसम्बन्धीको उपचार गर्दा बिरामीलाई कम खर्च लाग्ने कविराज तीर्थराज आचार्यले भनाइ छ। यस पद्धतिबाट उपचार गराउँदा ४० देखि ५० हजार खर्च हुने भए तापनि जिल्ला आयुर्वेदमा उपचार गराउँदा त्यसको चौगुणा रकम कम लाग्ने उनले बताए।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै वद्य अधिकृत मिथलेशकुमार ठाकुरले जिल्लामा सेवा विस्तारसँगै झापासहित मेची अञ्चलबाहेक अन्य विभिन्न जिल्लामा आयुर्वेद उपचारको खोजीमा नेपालका सीमावर्ती बजार जानुपर्ने बाध्यताको अन्त्य भइसकेको बताए।

प्रतिक्रिया दिनुहोस्