सेन्ट जेभियर्समा भर्ना गरिदिने भनी रकम ठगी गर्ने पक्राउ



काठमाडौं (नेस) । सेन्ट जेभियर्स स्कुलमा भर्ना गरिदिन्छु भनी रकम ठगी गर्ने ललितपुर कुमारीपाटी बस्ने दाङ सिसहनिया–१ का बाबुराम सुबेदी र काठमाडौं बानेश्वर बस्ने रामेछाप गेलु–२ को बिमल खड्कालाई महानगरीय अपराध महाशाखा टेकुले बुधबार पक्राउ गरेको छ ।
काठमाडौं नागार्जुन नगरपालिका–१३ बस्ने पर्सा, विरुवागुठी–२ का रविनप्रसाद धितालले ५ वर्षीय छोरा प्रिन्स धिताललाई ललितपुर जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलमा पढाउन इन्ट्रान्स परीक्षाको फाराम भरी स्कुल बाहिर बसिरहेको अवस्थामा सुवेदीले नाम निस्कन गाह्रो हुन्छ, विमल खड्काले सबै मिलाइदिन्छ भन्दै त्यसबापत १ लाख ५० हजार लाग्छ भनेपछि धितालले तत्काल प्रभु बैंकको चेक सुवेदीलाई दिएको खुल्न आएको छ ।
स्कुलबाट प्रवेश परीक्षाको रिजल्टमा छोराको नाम ननिस्के पछि निजहरूले ठगी गरेको र सम्पर्क विहिन भएको भन्दै महाशाखामा धितालले दरखास्त दिएपछि सुवेदीलाई काठमाडौं–३५ कोटेश्वरबाट ३६ हजार रुपैयाँ र विमललाई काठमाडौं–११ थापाथलीबाट १ लाख १४ हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महाशाखाले बरामदी रकमसहित बिहिबार महानगरीय प्रहरी परिसर टेकु, काठमाडौं पठाएको छ । साथै निजहरूले अन्य व्यक्तिहरूलाई पनि विभिन्न ठाउँमा जागिर लगाई दिन्छु भनी ठगी गरेको बुझिएकोले थप आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्