चण्डेनीमण्डनमा काँग्रेस–एमालेकै तिव्र प्रतिश्पर्धा



ज्ञानमणि नेपाल कालोटोपी, काभ्रे ।
देशभरि नै स्थानिय चुनावको चर्चा भइरहँदा जिल्लाको मण्डनदेउपुर नगरपालिका ( साविकको चण्डेनीमण्डन गाविस ) वडा नं. १० मा पनि यतिखेर चुनावी सरगर्मी ह्वात्तै वढेको छ । यहाँ यसपटक नयाँ अनुहारहरु देखिएका छन् ।

यस वडामा नेपाली काँग्रेस र नेकपा एमाले वीच नै कडा प्रतिश्पर्धा हुने निश्चित भएको छ । नेपाली काँग्रेसका तर्फबाट युवाहरुको नेतृत्व गर्दै विष्णुमणि नेपाल वडा अध्यक्षका लागि उमेदवार भएका छन् भने एमालेले गणेश प्रसाद नेपाललाई उमेदवार बनाएको छ । दुवै उमेदवारहरु उत्तिकै सक्रिय छन् ।

अबको नेतृत्व युवाहरुमा जानुपर्छ भन्ने मान्यता बोकेका यहाँका सयौं युवाहरुको नेतृत्व गर्दै उमेदवार बनेका विष्णुमणि नेपाल छोटो समयमै युवाहरुको मनमुटुमा बस्न सफल भएका छन् ।

उनले यसअघि कुनै राजनितीक दलहरुको पदमा नभए पनि गाउँमा विकास निर्माणका काममा निकै सक्रियता देखाउँदै आएका छन् । समाजसेवाका काममा सक्रियता देखाएका नेपालले गाउँमा सिंचाई ट्यांकी निर्माणमा सक्रियता मात्र देखाएनन् , धेरै ठूलो सहयोग पनि गरिसकेका छन् ।

उनकै पहलमा यहाँका गाउँ गाउँमा सिंचाई ट्यांकीहरु निर्माण गरिएका छन् भने नेपाल रेडक्रस सोसाइटी उपशाखा चण्डेनीको गठन र स्थायी भवन निर्माणमा पनि उनको ठूलो योगदान रहेको छ ।

भूकम्पको समयमा गाउँमा राहत वितरणमा पनि उनको सक्रियता उल्लेख्य रहयो । उनकै पहलमा मण्डनदेउपुर नगरपालिकामै पहिलो पटक सामुदायिक अस्पतालको निर्माण पनि शुरु भई निर्माणाधिन अवस्थामा छ ।

अस्पताल भवन निर्माणका लागि उनले व्यक्तिगत रुपमै २६ लाख मुल्य बराबरको जग्गा पनि दान दिएका छन् भने विद्यालय भवन निर्माण र खानेपानी आयोजना निर्माणमा पनि उनको उल्लेख्य योगदान छ ।

राजनितीमा कमै मात्र देखिएका र समाजसेवामा निकै अग्रसर भएका उनलाई अहिले राजनितीमा लागेरै समाजसेवा गर्ने जाँगर पनि निकै पलाएको छ । यो पटक आफूले चण्डेनीमण्डनबाट चुनाव जित्न सके केहि वर्षमै यहाँको विकास निर्माणले गति लिने उनले ठोकुवा गरे ।

त्यस्तै नेकपा एमालेको तर्फबाट चण्डेनीमण्डनमा निकै लामो समय देखि राजनितीमा लागेका गणेश प्रसाद नेपाल यस अघि पेशाले शिक्षक हुन् । शिक्षण पेशाको लामो अनुभव लिएका उनले अहिले उक्त पेशाबाट राजिनामा दिएर वडा अध्यक्षमा उमेदवारी दिएका हुन् ।

यसभेगका विकास निर्माणमा उनको पनि सक्रिय योगदान छ । लामो समय पार्टीको मुख्य जिम्मेवारी पनि लिएका उनको राजनितीमा यो अर्को सक्रिय फड्को हो ।

गाउँमा केहि सामाजिक काम गर्नु प¥यो भने वा कसैको केहि अप्ठ्यारो परेमा पनि उनी सहयोगका लागि अघि सर्ने गरेकै कारण यहाँका वासिन्दाका लागि उनी राम्रो छवि बनाउन सफल भएका छन् ।

लामो समय देखि आफ्नो गाउँ वत्ती मुनीको अँध्यारोमा रहेकाले गाउँको मुहार फेर्नका लागि आफूले उमेदवारी दिएको उनको दाबी छ ।

यसभेगमा माओवादी केन्द्र र अन्य साना दलहरुले पनि आ आफ्नो उमेदवारी दिएका भएपनि दुई ठूला दल वीच नै तिव्र प्रतिश्पर्धा रहने मतदाताहरु बताउँछन् ।

दुवै उत्तिकै सक्रिय र संभावना बोकेका उमेदवार भएकाले आफूहरु कसलाई भोट दिने भनेर अन्योलमा परेको उनीहरुले बताए । चण्डेनीमण्डनमा २ हजार १ सय मतदाताहरु छन् ।

प्रतिक्रिया दिनुहोस्