फूलवारी बहुमुखीका विद्यार्थी गर्मीको मारमा



पंखा नहुँदा सास्ती, सहयोगकालागि आग्रह

हेमन्त पौडेल,कैलाली ।

चर्को गर्मीका कारण फूलवारी बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई समस्या हुने गरेको छ ।

२०६६ सालमा स्थापना भएको फूलवारी बहुमुखी क्याम्पस गत वर्षमा विभिन्न दातृसंस्थाको सहयोगमा पक्की भवन निर्माण गरेपनि कक्षा कोठामा पंखाहरु जडान नगरेकाले विद्यार्थीलाई सास्ती भएको छ ।
गर्मी याममा कक्षा कोठामा पंखाहरु नभएकाले पढाईमा समस्या हुने गरेको स्ववियुका सभापति लक्ष्मण गिरीले बताउनुभयो ।
बिहानैदेखि चर्को गर्मी हुने र पंखा नभएकाले खलखली पसिना बग्ने भएकाले पढाई प्रभावित हुने गरेको स्ववियु सभापति गिरीको भनाई छ । हातले पंखा लगाएर पढाई गर्नुपर्ने भएपछि क्यापसको पढाई प्रभावित हुने गरेको छ । गर्मीका कारण सास्ती झेल्नु परेपछि क्याम्पस ब्यवस्थापनलाई पंखा लगाई दिन विद्यार्थीले आग्रह गरेपनि आर्थिक अभावका कारण कक्षा कोठामा पंखा लगाउन नसकेको क्याम्पस ब्यवस्थापन समितिका अध्य भूवन रिजालले बताउनुभयो ।

फूलवारी क्षेत्रमा बहुमुखी क्याम्पसको आवश्यकता देखेर स्थानीय बासिन्दाहरुको शक्रियतामा महायज्ञ लगाएर फूलवारी बहुमुखी क्याम्पसको स्थापना गरिएको थियो ।मानो मुठी उठाएर क्याम्पस स्थापना गरेपनि क्याम्पसको आर्थिक अवस्था कम्जोर भएकाले क्याम्पसमा पंखाहरु लागउन नसकेको अध्यक्ष रिजालको भनाई छ ।
गर्मीमा विद्यार्थीहरुले भोगेको सास्तीका बारेमा जानकार भएपनि रकम अभावमा पंखा लगाउन नसक्दा आफू निकै दुःखी भएको उहाँको भनाई छ । विद्यार्थीको मासिक शुल्क बाहेक अरु कुनै आम्दानीको स्रोत नभएकाले आवश्यकता अनुसारको काम समेत गर्न नसकेको क्याम्पस प्रमुख यम पौडेलले बताउनुभयो । क्याम्पसमा पंखा लगाउनु भनेको सामान्य कुरा हो तर रकम नहुँदा यही पनि ठूलो भएको छ –क्याम्पस प्रमुख पौडेलको भनाई छ ।
फूलवारी बहुमुखी क्याम्पसको समस्याका बारेमा विभिन्न सरोकारवाला निकायलाई जानकारी गरायौं तर कहिँ कतैबाट सहयोगका हातहरु देखिएनन् त्यसैले समाज सेवी अथवा मनकारी ब्यक्तिहरुबाटै भएपनि सहयोगको अपेक्षा राखेकाछौं क्याम्पस प्रमुख पौडेलले भन्नुभयो ।
तपाईहरुकै भाई भतिजाहरु र छोराछोरीहरु क्याम्समा पढ्दैछन उनीहरु गर्मीमा उकुसमुकुस भएकाछन तपाईहरुको सानो सहयोगले उनीहरुको पढाईमा सहयोग पुग्नसम्छ त्यसैले सहयोगकालागि हार्दिक अपील गर्दछौं क्याम्पसका प्राचार्य राजेन्द्र चपागाईंले बताउनुभयो ।
रकमको अभावमा क्याम्पस भवनमा वाइरिंग समेत हुन सकेको छैन । विद्यार्थीको फिसबाहेक क्याम्पसको अन्य आम्दानीको स्रोत नभएकाले शिक्षकहरुलाई समेत बल्लतल्ल तलव दिनुपरेको अध्यक्ष रिजालले बताउनुभयो ।
अफ्नै गाउँघरमा क्याम्पस भएपछि घरमै बसेर अध्ययन गर्न पाएकोमा विद्यार्थीहरु खुशीछन् तर साधनको अभावमा सास्ती झेल्नुपर्दा भने दुखी देखिएकाछन् ।
करिब ३० वटा जति पंखा भएमा गर्मी समयमा विद्यार्थीले सहजरुपमा पढ्न पाउने थिए । विहानै देखि हुने गर्मीले विद्यार्थी तथा शिक्षकहरु समस्यामा पर्ने गरेकाछन् ।
पढाउने शिक्षक र पढ्ने विद्यार्थी गर्मीले आत्तिने अवस्था रहेको छ । करिब २५० जति विद्यार्थी संख्या रहेकोमा २२ जना शिक्षकहरु कार्यरत रहेकाछन् ।

प्रतिक्रिया दिनुहोस्