आकांक्षीको व्यथा



पहिलो चरणको चुनाव आउन लागिसक्यो। तर, ठूला दलहरूले अझै उम्मेदवार घोषणा गर्न नसक्दा बिचरा⁄ उम्मेदवारका आकांक्षीहरू रनभुल्लमा परेको धरहराले देखेको छ। कतिपय सानातिना दलले उम्मेदवारी घोषणा गरेर भोट माग्न थालिसके। विचरा⁄ ठूला दलका ठूलाहरू भने टिकट पाइएला कि नपाइएला भनेर अन्यौलमा परेको धरहराले देखेको छ। अचेल नेताहरूको घर वरपर उम्मेदवारका आकांक्षीहरूको भीडभाड धरहराको लेन्सले पनि भ्याइनसक्नु देखिन्छ।

धेरै कार्यकर्ता भएका दलहरूमा यस्तो देखिनु अस्वाभाविक पनि होइन। तर, उम्मेदवार छान्ने एउटा प्रणाली बनाइदिने हो भने यो गाह्रो हुँदैन थियो कि ? हुनत तर्क गरिएला अमेरिका जस्तो विश्वको महाशक्ति राष्ट्रको राष्ट्रपतिको उम्मेदवार छान्दा त विवाद हुन्छ नेपालमा के कुरा गर्नु ? त्यसको खण्डन गर्ने तर्क पनि छ है पाठकवृन्द धरहरासँग। कतिपय कुरा नेपालबाट पनि त अरूले सिक्न सक्छन् नि।

किन सबै कुरा हामीले मात्रै बाहिरबाट सिक्ने ? उम्मेदवार छान्ने प्रणाली बनाउन दलका मठाधीशहरूले सोच्ने हो कि ? विचरा⁄ कार्यकर्तालाई महिनौंदेखि कति आशा देखाएर झुलाउनु ? यो धरहरा छेउछाउमै यस्ता टिकट आकांक्षी पनि देखिन्छन् जो महिनौंदेखि न भोक न भोजनको अवस्थामा छन्। फेरि,अर्को संशय त छँदैछ— अन्तिममा चुनाव होला के ? यसरी टाउको नखाने हो कि महोदयहरू ⁄

प्रतिक्रिया दिनुहोस्