छनोट भएमा बक्सरले नगद पाउने



नेपाल समाचारपत्र
काठमाडौं
एएसबीसी एलाइट बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली राष्ट्रिय बक्सिङ टोलीको बिदाइ गरिएको छ।

आगामी अप्रिल ३० देखि मे ८ सम्म एसिया बक्सिङ कन्फेडेरेसनको आयोजनामा हुने प्रतियोगितामा सहभागी हुने टिमको नेतृत्व नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले गरेका छन्। उनको नेतृत्वामा दुई खेलाडीमा पुरुष ५६ केजीमा पुरन राई र ६४ केजी तौलमा दीपक श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्। टिम प्रशिक्षकमा बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर, संघको प्रतिनिधित्व गर्दै मानार्थ आजीवन अध्यक्ष विष्णु गोपाल श्रेष्ठ र व्यवस्थापकमा संघका कोषाध्यक्ष गौतम सुजखु पनि उज्बेकिस्तानको तास्केन्ट प्रस्थान गर्नेछन्।

उक्त च्याम्पियनसिप आगामी सेप्टेम्बरमा जर्मनीमा हुने एआइबीए वल्र्ड बक्सिङ च्याम्पियनसिप २०१७ को क्वालिफाइङ खेलसमेत हो। यस प्रतियोगितामार्फत एक तौलसमूहमा ६ खेलाडी छनोट हुनेछन्। सोही अवसरमा नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले एकेडेमी निर्माणका लागि ५ लाख दिन घोषणा गरे। उनले खेलाडी प्रोत्सानका लागि प्रत्येक बाउट बिजेतालाई २५ हजार र छनोट भएको खण्डमा ५० हजार नगद दिने बताए।

बिदाइ कार्यक्रममा खेलाडी प्रोत्साहनका लागि मानार्थ आजीवन अध्यक्ष विष्णु गोपाल श्रेष्ठ र अध्यक्ष अवालेले प्रतियोगिताका दौरान खेलाडीले एक बाउट जितेमा ५० हजार र छनोट भएको खण्डमा १ लाख दिने घोषणा गरे।

प्रतिक्रिया दिनुहोस्