रविले जिते एनपीजीए उपाधि



नेपाल समाचारपत्र
काठमाडौं
रवि खड्काले सूर्य नेपाल गल्फ टुर २०१६–१७ अन्तर्गत छैटौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि जितेका छन्।
बुधबार आरएनजीसीमा भएको फाइनल खेलमा आर्मी क्लबका सञ्जय लामालाई हराएर घरेलु खेलाडी रविले उपाधि जितेका हुन्। पाँचौ वरियताका रविको यो करिअरमा ११औं उपाधिसमेत हो। उनले ट्रफीसहित ७० हजार रुपियाँको चेक प्राप्त गर्दा सञ्जयको हातमा ४० हजार नगद परेको थियो।

रविले ५ होल अग्रतासँगै हिजाको खेल शुरू गरेका थिए। तर सञ्जयले पुनरामगमन गर्दै चार होल जितेर अग्रता एक स्ट्रोकमा खुम्च्याए। रविले १६औं होल जितेर दुई स्ट्रोक अग्रता बनाए भने अर्को होलमा सञ्जयले फेरि जित्दा खेल रोमाञ्चक बनेको थियो।

तेस्रो स्थानको खेलमा दोस्रो वरियताका गोकर्ण गल्फ क्लबका भुवन नगरकोटीले नेपालका नम्बर एक शिवराम श्रेष्ठलाई हराएका थिए। भुवनले २८ हजार र शिवरामले २० हजार नगद हासिल गरे। त्यस्तै क्वाटरफाइनलमा पराजित भएका जयराम श्रेष्ठ, बलभद्र राई, पशुपति शर्मा र धन थापाले समान ११ हजार रुपियाँ हात पारे। त्यस्तै पहिलो चरणमा हारेकाले जनही ६ हजार नगद प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्