बारम्बार आग्रह गर्दा पनि तातोपानी नाका खोलिएन



हेमन्त जोशी, काठमाडौं

सडक र भन्सार कार्यालय लगायतका भौतिक संरचनाहरू सामान्य अवस्थामा फर्किसक्दा पनि भन्सार खुलाउन चिनीयाँ पक्षले चासो नदेखाएको पाइएको छ। गत चैतमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा र अरूबेला पनि पटक पटक आग्रह गर्दा समेत नाका खोल्न चीनले मौन देखिएको पाइएको छ।

भूकम्पको दुई वर्ष बितिसक्दा पनि सरकारले नेपाल र चीनबीचको व्यापारको मुख्य ढोका मानिएको तातोपानी भन्सार नाका खुलाउन सकेको छैन। गत चैतमा प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा तातोपानी नाका खोल्ने विषयमा चीनियाँ राष्ट्रपतिसंग कुरा भएपनि नाका खुलाउने काम भने अघि बढ्न सकेको छैन। नेपाल सरकारले चीनलाई पटक–पटक आग्रह गर्दा पनि नाका खुलाउने विषयमा स्पष्ट जवाफ पठाएको छैन। चीनियाँ पक्षले भने तातोपानी क्षेत्र भौगौलिक रूपमा जोखिमपूर्ण रहेको भन्दै भन्सार स्थापना गर्न अनिच्छुक देखिएको बुझिएको छ।

तातोपानी र खासा दुवैतिरको बाटो यातायात संचालनका गर्न मिल्ने अवस्थामा आईसकेपनि भन्सार स्थापना र व्यापार संचालनका लागि भने चिनियाँ पक्ष नै अनिच्छुक देखिएको भन्सार विभागका सूचना अधिकारी कुलराज ज्ञवालीले बताउनुभयो। भूकम्पपछि चीनले खासा क्षेत्रमा स्थापना गरिएको भन्सार कार्यालय र त्यहाँको मानव वस्तीलाई नै स्थानान्तरण गरेको थियो। अहिले त्यहाँ चिनियाँ सुरक्षाकर्मीको क्याम्प मात्र रहेको छ।

तातोपानी भन्सारका कारण चीनले आफ्नो आन्तरीक सुरक्षामा असर पारेको ठानेर नाका खोल्न ढिलाई गरिरहेको हुनसक्ने ज्ञवालीले बताउनुभयो। नेपाल समाचारपत्रसंग कुरा गर्दै उहाँले भन्नुभयो ‘द्विपक्षीय व्यापार संचलनका लागि भन्सार विभागको तर्फबाट कुनै अवरोध छैन। हामी अहिले कै अवस्थामा पनि काम गर्न तयार छौ।’ ज्ञवालीले तातोपानी भन्सारमा अहिले कर्मचारी कटौती गरेर सानो एकाई मात्र राखेको बताउनुभयो। दुई देशबीच व्यापार नभएपनि नाकाको हेरचाहका लागि मात्र कर्मचारी खटाईएको बताउनुभयो। भन्सार संचालनका बेलामा ८० देखि ८५ जनाको हाराहारी पुग्ने कर्मचारी संख्या अहिले एकजना भन्सार प्रमुख र केही सहयोगीमा मात्र सीमित भएको छ।

तातोपानी भन्सार प्रमुख दिव्यराज पोखरेलले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपालले नाका खोल्न गरेको आग्रहलाई चीनको प्रतिक्रिया कुरेर बसेको बताउनुभयो। पोखरेलले भन्नुभयो ‘हामी अहिलेपनि स्ट्याड बाई बसेका छौँ। चीनियाँ पक्षले नाका खोल्ने निर्णय गर्ने बित्तिकै हामी काम शुरू गर्छौ। हामी अहिले भनेको चीनको ग्रीन सिग्नल कुरेर बसेको अवस्था हो।’ राजमार्ग स्तरोन्तरीको काम भईरकेको भएपनि अहिलेपनि बाह्रै महिना निर्वाध यातायात संचालन गर्ने अवस्था नरहेको उहाँले जानकारी दिनुभयो। वर्षायामभरी नै पहिरोका कारण यातायात संचालन गर्नसक्ने अवस्था छैन भने सुख्यायाममा जुरेको पहिरोले अवरोध सिर्जना गर्ने गरेको पोखरेलले जानकारी दिनुभयो।

उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघ प्रदेश नंम्बर तीन केन्द्रीय सदस्य कमलकुमार श्रेष्ठले नाका बन्द भएपछि होटल व्यवसायी, ढुवानी व्यवसायी, व्यापारी र लोड अनलोडका कामगर्ने सबैको रोजीरोटी गुमेको बताउनुभयो। उहाँले भन्नुभयो ‘तातोपानी नाका बन्द हुँदा उक्त क्षेत्रमा वर्षौ देखि व्यापार व्यवसाय गरिरहेका व्यक्तिहरू बेरोजगार बनेका छन्। राज्य र सरकारी निकायसंग हामीले बेलाबेला नाका खोल्न पहल गरिरहेका छौँ, तर यस कार्यमा राज्यले प्रभावकारी भुमिका निभाउन सकेको छैन।’ त्यस्तै राष्ट्रिय व्यापार संघका अध्यक्ष नयनबहादुर पण्डितले लामो समय देखि बन्द रहेको तातोपानी नाकामा भौतिक संरचना स्तरोन्नति संगै सरकारले कुटनीतिक पहल गर्नुपर्ने बताउनुभयो। ‘हाल व्यापारीहरूले सामान निकासी पैठारीका लागि रसुवाको केरुङ नाका प्रयोग गरिरहेका छन्, तर केरुङ नाका पनि भरपर्दो भईरहेको छैन।’ उहाँले भन्नुभयो।

भूकम्पले चर्किएको तातोपानी भन्सार कार्यालय, नेपाल र चीन जोड्ने मितेरी पुल र ठाँउ–ठाँउमा अवरोध भएको अरनिको राजमार्ग सामान्य अवस्थामा फर्किसकेका छन्। तर चीनियाँ पक्षले नाका संचालनमा कम चासो देखाउँदा दुई देश बीचको व्यापारमा अझै अन्योल देखिएको छ। बार्षिक रूपमा ५० अर्व रुपियाँ बराबरको व्यापारीक कारोबार र झण्डै ४ अर्व राजस्व संकलन गर्ने तातोपानी भन्सार नाका अहिले सुनसान छ भने दुईवर्ष देखि राजस्व संकलन पनि शून्य छ। यसरी वार्षिक अर्वौ रुपियाँ बराबरको कारोवार गर्ने र सरदर १ लाखभन्दा बढी पर्यटकहरू ओहोर दोहोर गर्ने नाका पूर्ण रूपमा बन्द हुँदा मुलुकले ठुलो नोक्सानी बेहोर्नु परेको छ।

भूकम्प अघि चीन संगको व्यापारमा सबैभन्दा ठुलो हिस्सा ओगटेको तातोपानी भन्सार नाका विक्रम संवत् २००८ सालमा स्थापना भएको थियो। त्यस्तै भूकम्पकै कारणले बन्द भएको चीनसंगको व्यापारिक नाका रसुवागडी भने हाल संचालनमा आईसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्