चेल्सीले सात अंक दूरी बनायो



लन्डन, (एजेन्सी)
इङलिस प्रिमिएर लिगअन्तर्गत मंगलबार राति भएको खेलमा विजयी हुँदै चेल्सीले शीर्षस्थानमा अंक दूरी बनाएको छ।

लिग लिडर चेल्सीले दोस्रो स्थानको टोटेनह्यामसँग सात अंकले दूरी बढाएको हो। यद्दपि टोटनह्यामले चेल्सीभन्दा एक खेल कम खेलेको छ। उक्त खेलमा साउथह्याम्पटनलाई ४–२ ले पराजित गर्दै चेल्सीले स्पष्ट तीन अंक जोड्न सफल भयो।

चेल्सीको जितमा डिएगो कोस्टाले दुई गोलको योगदान गरे। यसअघि खेलको पाँचौ मिनेटमै इडेन हजार्डले गोलको खाता खोलेका थिए। तर उक्त अग्रता खेलको २४औं मिनेटमा तोडियो। साउथह्यामप्टनका ओरिओल रोमेउले गोल गर्दै खेललाई बराबरीमा ल्याए। यस्तै ग्यारी केहिलले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरेपछि चेल्सीले मध्यान्तरसम्म २–१ को अग्रता बनाएको थियो।

यसै गरी खेलको ५३औं मिनेटमा सेच फेब्रिगासको क्रसमा हेडीमार्फत गोल गर्दै डिएगो कोस्टाले चेल्सीको गोलसंख्या तीन पुर्याए। यस्तै खेलको ८९औं मिनेटमा कोस्टाले नै व्यक्तिगत दोस्रो गोल गरेपछि चेल्सीको चौथो गोल सम्भव भयो। यता गोलअन्तर कम गर्ने दाउमा रहेको साउथह्याम्पटनका लागि ९०औं मिनेटमा रायन बर्टर्यान्डले दोस्रो गोल फर्काउन सफल भए।

भियारियलसंग हार्यो एट्लेटिको
स्पेनिस ला लिगाअन्तर्गत मंगलबार राति भएको खेलमा एट्लेटिको मेड्रिडलाई भिया रियलले पराजित गरेको छ।पाहुना टोली भियारियलले एट्लेटिको मेड्रिडलाई घरेलु मैदानमा १–० ले पराजित गरेको हो। हारसंगै एट्लेटिको अंक तालिकाको शीर्ष टोली बार्सिलोना र मेड्रिडभन्दा ७ अंकले पछाडि परेको छ।

एट्लेटिकोलाई हराउन भिया रियलका रोबर्टो सोरियानोले खेलको ८२औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो। एट्लेटिकोले खेलमा गोल गर्ने केही प्रयास गरेता पनि भिल्लारीयलका गोलरक्षक आन्द्रेस फर्नान्डेज उत्कृष्ट बचाउ गरेका थिए। भिया रियलविरुद्धको पछिल्लो ६ खेलमध्ये एट्लेटिकोले एक खेलमा मात्र जित हासिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्