फर्किए निर्वाचन अधिकृत



विनोद सिंह विष्ट, बैतडी

सरकारले दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसँगै बैतडीमा खटिएका निर्वाचन अधिकृत फिर्ता भएका छन्। सरकारले दोस्रो चरणमा निर्वाचन गर्ने नयाँ तालिका सार्वजनिक गरेपछि अधिकृतहरु फिर्ता भएका हुन्। पहिलेको तयारीअनुसार यही मंगलबारभित्र जिल्लाका १० वटै तहमा निर्वाचन अधिकृतका कार्यालयहरु स्थापना गर्ने तयारी भएको थियो।

अहिले निर्वाचनको नयाँ मिति सार्वजनिक भएपछि मुख्य निर्वाचन अधिकृत धु्रवकुमार शाहबाहेक अन्य सबै निर्वाचन अधिकृत आ–आफ्नो कार्यक्षेत्रमा फिर्ता भएका छन्। शाह दशरथचन्द नगरपालिकामा निर्वाचन अधिकृत तथा मुख्य मतदान अधिकृतको रूपमा खटिएका छन्। सदरमुकामस्थित जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

शाहबाहेक अन्य सबै अधिकृतहरु आ–आफ्नो कार्यक्षेत्रमा फिर्ता भइसकेका जिल्ला निर्वाचन अधिकृत माधव फुयालले बताए। ‘केन्द्रबाट आयोगको अर्को निर्देशन आएपछि अधिकृतहरु पुनः कार्यक्षेत्रमा खटिने छन्’ –उनले भने। जिल्लाका ४ नगर र ६ गाउँपालिकाका लागि यही वैशाख ३ गते अधिकृतहरु कार्यक्षेत्रमा खटिएका थिए। यससँगै जिल्लामा वैशाख १ गतेदेखि शुरु भएको मतदाता शिक्षा कार्यक्रमसमेत स्थगित भएको छ।

स्थानीय तहको निर्वाचनका लागि बैतडीमा १ सय २० मतदानस्थल तोकिएका छन् भने १ लाख २४ हजार ८ सय २४ जना मतदाता छन्। निर्वाचनका लागि विभिन्न १३ दल दर्ता भएका छन्।

प्रतिक्रिया दिनुहोस्