अटोरिक्सा चालकको ठगी, रूपैडिहा–नेपालगन्ज भाडा ११२०



नेपाल समाचारपत्र
बाँके
भारतको हिमाञ्चलमा काम गरेर फर्किएका दुई जना नेपालीलाई नेपालगन्ज नाकामा अटोरिक्सा सञ्चालकले ठगेका छन्। भारतको रूपैडिहादेखि नेपालगन्जसम्मको एक जनाको भाडा १ हजार १ सय २० रुपियाँ लिएको खुलासा भएको छ। सुर्खेतका रत्न हमाल र प्रेमबहादुर रानासँग नेपालगन्ज फुल्टेक्राका अटोरिक्साचालक हिमतअलि बेहनाले १ हजार १ सय २० का दरले भाडा लिएका हुन्। हिमाञ्चलमा काम गरेर फर्किएका हमाल र रानालाई रूपैडिहामा जबरजस्ती अटोरिक्सामा बसाएर बेहनाले २ हजार २ सय ४० रुपियाँ लिएका थिए।

राना र हमालले यति धेरै रिक्सा भाडा दिँदैनौं भन्दा बेहनाले प्रहरी र भन्सारमा मिलाउनुपर्छ भनेका थिए। हिमाञ्चलमा काम गरेर केही महिनामै फर्किएका राना र हमालले जमुनाहा नाका छिर्नेबित्तिकै नेपाल प्रहरीलाई बढी भाडा लिएको बताएपछि बेहना पक्राउ परेका हुन्। बेहनालगायतको एउटा समूह नै नाकामा बसेर पहाडी जिल्लाका मानिसलाई ठगी गर्ने गरेको घटनाक्रमले देखाएको छ।

रूपैडिहादेखि जमुनाहासम्म आउँदा नै राना र हमालसँग असुलीको पैसा बेहनासँग नहुनुले त्यसको पुष्टि गरेको छ। थर्काएर पैसा असुल गर्नेबित्तिकै लुटपाट गिरोहमा रहेका सदस्यले पैसा बाँडेका थिए। प्रहरीले बेहनासँग पैसा फेला नपारेपछि मुद्दा प्रक्रिया अघि बढाएको छ। प्रहरीले बेहनालाई म्याद थप गरेर सार्वजनिक अपराधमा मुद्दा चलाइसकेको छ। ‘राना र हमालसँग लिएको पैसा खोई भन्दा रूपैडिहाका मानिसले लगेको बताउँछ’, प्रहरी स्रोतले भन्यो– ‘बेहनाको यो भनाइले पनि ठगी, लुटपाटमा एउटा गिरोह छ भन्ने देखाउँछ।’

चुनावको मिति घोषणा भएपछि भारतमा काम गर्न गएका नेपालीहरू धमाधम घर फर्किरहेका छन्। नेपालीको धेरै घर फर्किने क्रममा नाकामा सधैं लुटपाट हुने गर्दछ। बाँके प्रहरीले चाडबाडका बेलामा घर फर्किनेलाई विशेष सुरक्षा प्रदान गर्ने गर्दछ। त्यस बेलामा भारतबाट रिक्सा, टाँगामा आउनेलाई ‘कति भाडा दिनुभयो?’ भनेर प्रहरीले सोध्ने गर्दथ्यो। अहिलेको घटनामा भने राना र हमालले आफैंले प्रहरीलाई गुहारेका छन्। चुनावले गर्दा नाकामा सुरक्षा प्रबन्ध कडा गरिएको छ। त्यसका साथै नेपालबाट भारततिर काम गर्न जाने नेपालीको लगत पनि राख्न थालिएको छ। पहाडी जिल्लाका मानिसलाई देख्नेबित्तिकै रिक्सा, टाँगा र नेपालगन्जका होटल व्यवसायी नाकामै पुगेर तानातान गर्ने प्रवृत्ति भने नयाँ होइन। यस्ता घटनालाई रोक्न प्रहरी सफल भएको छैन। पहाडी जिल्लाका मानिस जो भारतमा काम गरेर फर्किएका हुन्छन्, उनीहरूलाई नेपालगन्जमा रिक्सा, टाँगा भाडाको ज्ञान हुँदैन। त्यस्तालाई रिक्सा, टाँगावालाले ठग्ने गर्दछ। यसअघि पनि २ हजारसम्म भाडा लिएको घटना बाहिर आएको थियो। रिक्सा र टाँगावाला मिलेर यस्ता नेपालीलाई ठग्ने गरेको पाइन्छ।

बाँके प्रहरीले यसअघि पनि केही रिक्स र टाँगावालालाई पक्राउ गरेर मुद्दा चलाइसकेको छ। प्रहरीलाई झुक्याएर ठगी गर्ने क्रम भने रोकिएको छैन।

प्रतिक्रिया दिनुहोस्