कांग्रेस र एमालेको टुंगो छैन, अन्य साना दलको छनोट प्रक्रिया तीव्र



नेपाल समाचारपत्र
पर्वत
बीस वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा पर्वतका राजनीतिक दलहरूले प्रतिनिधि छनोटको प्रक्रिया तीव्र पारेका छन्। लामो समयको अन्तरालपछि आउँदो वैशाख ३१ गते हुन गइरहेको स्थानीय निर्वाचनको उत्साह जनतामा जगाएको छ।

राजनीतिक दल आकांक्षीहरूबाट सक्षम प्रतिनिधिहरू छनोटमा लागेका छन्। पर्वतका मुख्य राजनीतिक दल नेपाली कांग्रेस र एमालेले गाउँपालिका र नगरको वडाका उम्मेदवारहरूको टुंगो अहिलेसम्म लगाउन नसके पनि नेकपा माओवादी केन्द्र र राप्रपाले भने उम्मेदवारको टुंगो लगाउन थालेको छ। नेकपा माओवादी केन्द्रले एक नगर र केही गाउँपालिकाको वडाहरूमा उम्मेदवारको टुंगो लगाइसकेको छ भने राप्रपाले पनि नगर र गाउँपालिकाको उम्मेदवार टुंगाउँदै छ। कुश्मा नगरपालिकाको प्रमुखमा नगर कमिटी अध्यक्ष शंकर गिरी र उपप्रमुखमा तारादेवी रिजाललाई उम्मेदवार बनाउने निर्णय भइसकेको छ। फलेबास नगरपालिका र केही गाउँपालिकामा उम्मेदवार छनोटको प्रक्रिया जारी रहेको र केही दिनमै उम्मेदवारको टुंगो लाग्ने नगर कमिटी अध्यक्ष गिरीले बताउनुभयो।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले भने दुवै नगर र ३ गाउँपालिकामा उम्मेदवारको टुंगो लगाइसकेको भने २ गाउँपालिकामा उम्मेदवारको टुंगो लगाउन बाँकी रहेको बताएको छ। उनीहरू अहिले चुनाव केन्द्रित कार्यक्रमका साथै घरदैलो कार्यक्रममा निस्किसकेका छन्। राप्रपा अहिले चुनाव केन्द्रित कार्यक्रम लिएर गाउँगाउँ पुगिसकेको र बाँकी रहेका गाउँपालिकामा एक–दुई दिनमै उम्मेदवारको टुंगो लाग्ने राप्रपा पर्वतका जिल्ला सदस्य तथा सर्वसहमत रूपमा कुश्मा नगरपालिकाको प्रमुखका रूपमा रहेका प्रकाश पौडेलले बताउनुभयो।

यता नेपाली कांग्रेसले भने अहिलेसम्म उम्मेदवारको टुंगो लगाउन सकेको छैन। २ नगरपालिका र ५ गाउँपालिका रहेको पर्वतमा नगरको मेयर तथा गाउँपालिकाको वडामा उम्मेदवारका आकांक्षीहरू धेरै भएका कारण उम्मेदवारको अहिलेसम्म टुंगो लाग्न नसकेको हो। पर्वतका ५ वटै गाउँपालिकाको वडा अध्यक्ष र सदस्यको नाम सर्वसम्मत रूपमा टुंग्याएर जिल्ला कमिटीमा सिफारिस गरेको भए पनि अहिलेसम्म कुनै गाउँपालिकाको उम्मेदवारको टुंगो लाग्न नसकेको कांग्रेसले जनाएको हो। नेपाली कांग्रेस पर्वतका पार्टी सभापति खिमप्रसाद भुसालले केही दिनमै सबै नगर र गाउँपालिकाको उम्मेदवारको एकैपटक टुंगो लाग्ने गरी काम भइरहेको बताउनुभयो।

यसै गरी एमालेले महाशिला गाउँपालिकामा उम्मेदवारको टुंगो लगाए पनि अन्य गाउँपालिका तथा नगरमा भने अहिलेसम्म उम्मेदवारको टुंगो लगाउन सकेको छैन। महाशिला गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका पूर्व उपाध्यक्षसमेत रहेका एमाले नेता राजु प्रसाद पौडेललाई गाउँपालिकाको प्रमुखमा सर्वसहमत निर्णय भएको र अन्य ४ गाउँपालिका र २ नगरमा भने उम्मेदवारको टुंगो लागिनसकेको एमाले पर्वतका अध्यक्ष पदम गिरीले जानकारी दिनुभयो।

जिल्लामा निर्वाचनका लागि नेकपा एमाले र नेपाली कांगे्रसमा धेरै आकांक्षी हुँदा पार्टीमा उम्मेदवार व्यवस्थापन गर्न समस्या पर्ने देखिएको हो। स्थानीय तहमा विगत लामो समयदेखि निर्वाचन नहुँदा आकांक्षीको लर्को लागेको अवस्था छ।

प्रतिक्रिया दिनुहोस्