काल निम्त्याउँदै बिजुलीको तार



नेपाल समाचारपत्र
काभ्रे
चैत्त २९ गते राति बनेपा बुडोलमा एक युवकले करेन्टका कारण ज्यान गुमाउन पुगे। करेन्टबाट मृत्यु भएका युवकको १२ दिनको काम नसक्दै अर्का युवकले त्यही स्थानमा करेन्टबाट ज्यान गुमाउन पुगे।

नेपाल विद्युत् प्राधिकरणको लापरबाहीका कारण एक महिनाको बीचमा तीन जनाले करेन्टकै कारण ज्यान गुमाउन पुगेका छन्। चालू आर्थिक वर्षमा विद्युत् प्राधिकरणको लापरबाहीका कारण ७ जनाले ज्यान गुमाउन पुगेका जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ। खाली ट्रिपरको ढाला उठाउने क्रममा पनौती नगरपालिका घर भएका २७ वर्षीय युवक केशव आचार्यको घटनास्थलमै मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक अनिल घिमिरेका अनुसार आचार्य स्टेरिङको तल भुइँमा पछारिएको अवस्थामा फेला परेका थिए।

बा३ख ३५४९ नम्बरको ट्रिपरमा जमेको पानी झार्न खोज्दा उठेको ढाला विद्युत्को नांगो तारमा छोएको थियो। फलामै फलामले बनेको ट्रिपरमा एकैपटक करेन्ट सर्ट भई आचार्य स्टेरिङबाट भुइँमा झरेका थिए। आचार्यको शरीर डढेर पूरै कालो भएको थियो।

चैत २९ गते मंगलबार राति बनेपाको बुडोलमा बालुवा झार्ने क्रममा करेन्ट लागेर सिन्धुपाल्चोक घर भई काठमाडौंमा डेरा गरी बस्ने हरिबहादुर कुसुलेको टाउको छिन्न गई मृत्यु भएको थियो। बुडोल चोकमा बा४ख ७९०६ नम्बरको ट्रिपरले ढाला उठाएर बालुवा झार्ने क्रममा हाइभोल्टेजको तारमा भेट्न पुग्दा टाउको छिनेको थियो। टाउको सडकमा पुग्दा उनको शरीरको बाँकी भाग ट्रिपरकै ढालामा अड्किएको थियो।

प्रतिक्रिया दिनुहोस्