ओभरलोड नै ओभरलोड



नेपाल समाचारपत्र
बाँके
ट्याक्टरले ‘ओभरलोड’ गरेर कच्चा पदार्थ ल्याउने गरेको छ। खोला तथा नदीजन्य पदार्थ बोक्ने ट्याक्टर सबै ओभरलोडमा रहने गरेका हुन्। नियमन फितलो हुँदा ट्याक्टरले ढालामाथि पटारा राखेर ओभरलोडमा कच्चा पदार्थ ल्याउने गरेका छन्। ओभरलोडलाई ट्राफिक नियमको उल्लंघन मानिन्छ। ओभरलोड गरेर बालुवा, मोरङ, गिट्टी ल्याउँदा धेरै पैसा आउने भएकाले ट्याक्टर चालकहरू त्यसैमा लागेका छन्।

बाँकेको खोलानालाबाट यति बेला बालुवाको धमाधम ओसारपसार भइरहेको छ। विशेष गरेर राप्ती नदीबाट बालुवा निकासी भइरहेको छ। कागजपत्र नबोक्ने, नाबालकसमेत सहयोगी राखेका ट्याक्टरले ओभरलोड सामान राखेर त्यसमाथि कामदारलाई बसाएको पाइन्छ। जसले बेलाबेलामा दुर्घटना निम्त्याउने गरेको छ।
ओभरलोडविरुद्ध बाँके प्रहरीले आँखा चिम्लिएको गुनासो आइरहँदा अहिले प्रहरीले त्यसविरुद्ध अप्रेसन चलाएको छ। एकै दिन प्रहरीले ओभरलोडका ४० वटा ट्याक्टर नियन्त्रणमा लिएको छ। ‘कम्दीबाट आएका सबै ट्याक्टर ओभरलोडका थिए’, प्रहरी निरीक्षक बीरबहादुर थापाले भन्नु भयो– ‘४० वटालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएका छौं।’

सबै ट्याक्टर, चालक र सहचालकलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। ४० मध्ये ७ वटा ट्याक्टरका चालकसँग अनुमति–पत्र थिएन। चार जना बालक सहचालक थिए। ‘सबैलाई जरिवाना गर्ने तयारीमा छौं’ –प्रहरी निरीक्षक थापाले भन्नुभयो।ओभरलोडले गर्दा ट्याक्टर पल्टिने सम्भावना बढी हुन्छ। त्यसमा माथि सहचालक, कामदारहरू बसेका हुन्छन्। बुधबार दिनभरि प्रहरीले ट्याक्टरका चालक, सहचालकहरूलाई एक ठाउँमा राखेर ट्राफिक नियमसम्बन्धी प्रशिक्षण दिएको थियो।

यसअघि वडा प्रहरी कार्यालय, नेपालगन्जले पनि ओभरलोडविरुद्ध अप्रेसन चलाएको थियो। धेरैलाई कारबाही र चेतावनी दिएको थियो। त्यसको बाबजुद त्यो रुटमा ओभरलोडको समस्या समाधान नभएपछि कडाइ गरिएको हो। यो कम्दी नाकाबाट आउने ट्याक्टरमात्रै होइन, कोहलपुर क्षेत्रमा पनि ओभरलोडको समस्या रहेको छ। प्रहरीले सधैं नभएर बेलाबेलामा मात्रै यस्तो कारबाही गर्दा ट्याक्टर चालकले टेरेको पाइँदैन। कतिपय प्रहरी त यस्ता ओभरलोड गाडीसँग पैसा असुल्न एकान्तमा बसेका हुन्छन्। ‘सेटिङ’ मा चलिरहेकाहरू एक्कासि अर्को युनिटले अप्रेसन गरिदिँदा कारबाहीमा पर्ने गरेको स्रोतहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्