लाङटाङ म्याराथनमा होमलाल पहिलो



?

नेपाल समाचारपत्र
रसुवा
रसुवाको लाङटाङमा आयोजना गरिएको दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनमा पुरुषतर्फ नेपाली सेनाका होमलाल श्रेष्ठ प्रथम भएका छन्।
मंगलबार भएको ४२ किलोमिटर दूरीको म्याराथन तीन घण्टा ३४ मिनेटमा पूरा गर्दै श्रेष्ठ पहिलो भएका हुन्। तीन घण्टा ३७ मिनेटमा दूरी पूरा गरेका सेनाकै राजन क्षेत्री दोस्रो तथा तीन घण्टा ३८ मिनेटमा दूरी पूरा गरेका वेदबहादुर सुनुवार तेस्रो भएका छन्।

त्यसै गरी म्याराथनमा महिलातर्फ नेपाली सेनाकी सरिता बासी प्रथम भएकी छन्। बासीले ४२ किलोमिटर दूरी ५ घण्टा १३ मिनेटमा पूरा गर्दै पहिलो भएकी हुन्। ५ घण्टा १६ मिनेटमा दूरी पूरा गरेकी सेनाकै रेशु बस्नेत दोस्रो र ५ घण्टा २८ मिनेटमा दूरी पूरा सशस्त्र प्रहरीकी पुष्पा भण्डारी तेस्रो भएकी हुन्।
विजेताले एक लाख, दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार रूपियाँ पुरस्कार पाएका छन्। म्याराथनमा १० जना विदेशी र ९२ जना नेपाली गरी १ सय २ जना प्रतिस्पर्धीको सहभागीता रहेका थिए। जसमध्ये १४ जना महिला रहेका थिए।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ् नेपाल (टान) ले २०७२ सालको भूकम्पले क्षति पुर्याएको लाङटाङ क्षेत्रमा पदमार्ग सुरक्षित छ भन्ने सन्देश विश्वभर फैलाउन तथा खेलकुद पर्यटनस्थलको विकास गर्न म्याराथन आयोजना गरेको थियो। पहिलो संस्करणमा हाफ म्याराथन आयोजना गरेको टानले यस संस्करणलाई अन्तर्राष्ट्रिय स्तरको बनाएको हो। गएको वर्ष गोसाइकुण्डबाट रसुवा सदरमुकाम धुन्चेसम्म प्रथम टान गोसाइकुण्ड लाङटाङ म्याराथन आयोजना भएको थियो। यो वर्ष लाङटाङ राष्ट्रिय निकुञ्चको क्यानजिङ गुम्बाबाट शुरू भई थाङस्याप घोडा तबेला हुँदै स्याफ्रुबेंसीसम्म झण्डै ४२ किलोमिटर म्याराथनको आयोजना गरिएको टानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्