जनतालाई अल्छी बनाउने कार्य



दामोदर पौडेल
लोकतन्त्रलाई सस्तो लोकप्रियताको माध्यम बनाएर चुनाव जित्न प्रयास गर्ने कार्यले लोकतन्त्र बलियो हुँदैन। जनतालाई भ्रम हुन्छ। लोकतन्त्रले जति दिए पनि नहुने र गलत सन्देश दिने तथा लोकतन्त्रप्रति नै अनास्था हुने काम बारम्बार भएका छन्।

भारतमा अरविन्द केजरिवाल दिल्लीका मुख्यमन्त्री छन्। उनले पहिला पानी, बिजुलीमा जनताले धेरै कम पैसा तिर्नुपर्ने घोषणा गरेका थिए। अहिले दिल्लीका नगरपालिकाहरुका चुनावको क्रममा उनले घरको करसमेत मिनाहा गर्ने घोषणा गरे। यस्ता घोषणाले जनताबाट मत पाइएला तर विकासलाई रोक्ने र जनतालाई अल्छी बनाउने हुन्छ। जनता सरकारसँग लिने मात्र भावना राख्ने हुन्छन्। जनताले कर नै नदिएपछि सरकारले कहाँबाट ल्याएर विकास गर्ने ? जनताले ध्यान दिनुपर्ने विषय हो यो।

जनता करसँग डराउनुहुँदैन। जति बढी कर उठ्छ त्यति नै सरकारले त्यो पैसा विकासको पूर्वाधार, सामाजिक सुरक्षा आदिमा लगाउन सक्छ। घर हुनेहरुलाई कर माफ हुने, विलासी सामानमा कर नलाग्ने हो भने सरकारले कसबाट कर लिएर गरिब र सामाजिक सुरक्षा चाहिनेहरुका लागि काम गर्ने त ?

ती केजरीवालहरु नेपालमा पनि हुन सक्छन्। उनीहरुले सस्तो कुरा गरेर जनताको मत लिएका हुन सक्छन् र लिन सक्छन्। लोकतन्त्रमा जनताले राजनीतिलाई सन्तुलित र जनउपयोगी बनाउने हो भने कमसेकम कर कम गराउने घोषणा गर्नेहरुलाई गरिब जनताले मत दिनुहुँदैन। देशमा गरिब धेरै भएकाले कर कम गर्नेको विरुद्धमा गरिबहरुलाई संगठित गर्ने शक्ति पनि तयार हुनुपर्दछ। फरक स्वार्थ समूहको बीचको शान्तिपूर्ण टकराव र निकास चुनावी राजनीति पनि हो। यस्तोमा जनता विभाजित हुनै पर्दछ। जसले कर पनि कम लिन्छु भन्छ र जनताको हित अर्थात् गरिब र अक्षमहरुको हित पनि गर्दछु भन्छ भने उसले झुटा बोलिरहेको छ।

जनता सचेत हुनुपर्ने विषय भनेको कर कम होस् भन्ने होइन। त्यो पैसा भ्रष्टाचारमा नलागोस्, अरु अनावश्यक काममा खर्च नहोस् भन्ने हो। देशको राजस्वबाट उठ्ने सबै रकम कर्मचारी र सामाजिक सुरक्षामा मात्र खर्च हुने हो भने पनि त्यो सार्थक हुँदैन। अझ ती कर्मचारीले जनताको हित गर्नभन्दा आफ्नो मात्र हित गर्ने हो भने त्यसले लोकतन्त्रलाई नै नराम्रो बनाउँछ। भनिन्छ, लोकतन्त्र नेताहरुको कारणले भन्दा पनि कर्मचारीहरु भ्रष्ट भएर, गलत व्यवहार गरेर तथा देशको धेरै खर्च उनीहरुकै लागि हुनाले बदनाम भएको छ। लोकतन्त्र असफल हुनाको कारण कर्मचारीको भ्रष्टाचार र नेताहरुको सस्तो लोकप्रियताको लागि काम गर्ने मानसिकता पनि हो।

केजरिवालले कर माफ गर्दा बजेटले सामान्य काम गर्नै नपुग्ने धारणा आइसके। जनताले केजरिवाललाई सस्तो लोकप्रियताको लागि वास्तवमा समाजको अहित गर्ने नेताको रुपमा हेर्न सक्छन्। त्यसो त भारतमा कांग्रेस आईमा बूढाहरुको नेतृत्व हट्नुपर्ने आवाज उठेको छ। भ्रष्टाचारको आरोप पनि कांग्रेस पार्टीमा बारम्बार लाग्छ। भारतीय जनता पार्टीले कांग्रेसले भ्रष्टाचार गरेको र अल्पसंख्यकहरुलाई भ्रम दिएर भोट बैंकको रुपमा प्रयोग गरेको आरोप लगाउँछ।
नेपालमा मानिसहरु भन्ने गर्दछन् कि पहिला कांग्रेस र एमालेको बहुदलीय आतंक थियो तर अब कांग्रेस, एमाले र माओवादी तथा मधेसवादीहरुसमेतको बहुदलीय आतंक छ। सरकारमा जानेहरुको काम देश र जनताको लागि भन्दा पैसा कमाउने तथा आफ्ना मानिसलाई फाइदा पुग्ने काम गर्ने भएको छ भन्ने आरोप सामान्य हो। भ्रष्टाचारको लागि प्रतिस्पर्धा राम्रो होइन, अझै भ्रष्टाचार गरेर कार्यकर्ता पाल्ने, कार्यकर्ताले जनतालाई विभिन्न भ्रम छर्ने काम गरेर मत लिनु त लोकतन्त्रको नाममा भएको आतंक नै हो।

भारतले अहिले केही राम्रो गरेको देखिन्छ। युपीमा भाजपाले जित्यो र सरकार बनायो। त्यहाँका सन्त मुख्यमन्त्रीले भ्रष्टाचार, अपराध, बेइमानीका विरुद्धमा आन्दोलन नै छेडेका छन्। स्मरणीय छ कि युपीमा भारतीय कांग्रेस पार्टीले जम्मा ७ सिट ल्यायो र भाजपाले ३२५ सिट पायो। पन्जावमा कांग्रेस आईले बहुमत पायो। कांग्रेस आईका मन्त्रीहरु प्रहरीले पैसा असुलेका समेतका साना भ्रष्टाचारदेखि ठूला भ्रष्टाचारसम्मको विरुद्धमा काम गर्न थालेको देखिन्छ। यो शुभ–संकेत हो। देशका दुईवटा ठूला दल भाजपा र कांग्रेस आई दुवैले भ्रष्टाचार र कानुन विपरीतका अरु क्रियाकलापप्रति असहिष्णु बन्ने संकेत दिएका छन्। यो कायम रहेमा जनतालाई अझ राम्रो गरेर खुशी तुल्याउने प्रतिस्पर्धा हुनेछ, नकि भ्रष्टाचार गरेर पैसा, पद आदि बाँडेर मत लिने।

लोकतन्त्रमा राम्रोको प्रतिस्पर्धाको शुरुवात भारतबाट भएमा नेपालमा पनि त्यो हावा लाग्न सक्छ र परिणाम राम्रो आउन सक्छ। जात, धर्म, भाषा, संस्कृति आदिको नाममा मत लिने कि विकास र गरिब जनताका हितलाई ध्यान दिएर मत लिने भन्ने बारे दलहरुले सोच्ने, त्यसै आधारमा जनताले मत दिने अवस्थाको सृजना हुन आवश्यक छ।

देशको राजस्वभन्दा बढी साधारण खर्च गर्ने प्रतिस्पर्धाले जनता खुशी होलान्, सुखी हुँदैनन्। यसले गर्दा प्रशासनिक खर्चको लागि पनि विदेशीको मुख ताक्नुपर्ने हुन्छ। नेपालमा कुन दलको सरकार बनेदेखि साधारण खर्च राजस्वभन्दा बढी गर्न थालिएको हो भन्ने जनताले पत्ता लगाएर त्यस्ता दललाई कम नम्बर दिन सकेमा राम्रो हुने थियो।
विकास र विकासको पूर्वाधारको काममा जनतालाई उत्प्रेरित नगरी सामाजिक सुरक्षामा मात्र खर्च गरेको देखाएर मत लिनु पेनकिलरजस्तो मात्र हो। केही समय आराम भएको जस्तो देखाए पनि यसले रोगलाई बढाउँछ। अर्थात् मुद्रास्फीति बढाउँछ, विकास कम भएर आम्दानी घट्छ, विदेशसँगको निर्भरता बढ्छ, जनता अल्छी हुन्छन् र कुनै पनि समय अशान्ति निम्तिन्छ।

प्रतिक्रिया दिनुहोस्