पुलाचौर स्वास्थ्यचौकी जिल्लाकै उत्कृष्ट



नेपाल समाचारपत्र
म्याग्दी
म्याग्दीको बेनी नगरपालिका–५ मा सञ्चालित पुलाचौर स्वास्थ्यचौकी जिल्लामै उत्कृष्ट स्वास्थ्यचौकीका रूपमा सम्मानित भएको छ। जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले गरेको अनुगमनका क्रममा स्वास्थ्य संस्थामा उपलब्ध सेवासुविधाको व्यवस्थापन तथा संस्थाको गतिविधिका आधारमा जिल्लाभरमा सञ्चालित स्वास्थ्यचौकीमध्ये पुलाचौरलाई उत्कृष्ट स्वास्थ्यचौकीका रूपमा सम्मान गरिएको हो।

उक्त स्वास्थ्यचौकीमा प्रतिक्षालय तथा स्वास्थ्य शिक्षा सूचना कर्नर, परामर्श केन्द्रको व्यवस्था, अन्तरव्यक्ति सञ्चार तथा परामर्श सीपको प्रयोग, परिवार नियोजन कार्यक्रमका अस्थायी सेवाहरू सबै उपलब्ध भएको, खोपकेन्द्र तथा गाउँघर क्लिनिक सञ्चालन, स्वास्थ्यचौकी व्यवस्थापन समितिबाट नियमित अनुगमनलगायतका गतिविधिहरू सञ्चालन भएको पाइएको छ। यसै गरी स्वास्थ्यचौकीमा हुनुपर्ने र गर्नुपर्ने न्यूनतम आधारभूत मापदण्डहरू सबै पूरा गरेको हुँदा उत्कृष्ट स्वास्थ्यचौकीका रूपमा सम्मान गरिएको परिवार नियोजन सुपरभाइजर नारायप्रसाद रेग्मीले बताउनुभयो।

‘परिवार नियोजन, स्मार्ट बन्छ जीवन’ भन्ने मूल नारासहित एचसी थ्री म्याग्दीको सहयोग र स्वास्थ्यचौकी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा जिल्ला स्वास्थ्य कार्यालयमार्फत स्वास्थ्यचौकीलाई सम्मान गरिएको छ। कार्यक्रमको अवसरमा स्वास्थ्यचौकी प्रमुख रामप्रसाद शर्मालाई उत्कृष्ट स्वास्थ्यचौकीको प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो। त्यस्तै स्वास्थ्यचौकीलाई उत्कृष्ट बनाउन भूमिका खेलेको भन्दै स्वास्थ्यचौकी व्यवस्थापन समितिका पदाधिकारी, स्वास्थ्यकर्मी एवं कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई समेत सम्मान गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्य संस्था र व्यक्तिलाई जिल्ला स्वास्थ्य प्रमुख डाक्टर रोशन न्यौपाने, अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मी, जनस्वास्थ्य अधिकृत नारायणप्रसाद चौधरी, एचसी थ्री कार्यक्रमका अन्तरव्यक्ति सञ्चार विशेषज्ञ जया बुढाथोकी, जिल्ला संयोजक सरस्वती पुरी र बेनपा–५ का वडा सचिव कृष्णबहादुर बानियाँले अबिर तथा खादा लगाइ सम्मान गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्