दुई चरणले दलहरूको सकस टर्यो



गोकुल घोरासइने, बारा

सत्तारुढ दल र नवगठित राष्ट्रिय जनता दलका नेताहरुबीच केही प्रदेशमा अर्को चरणमा निर्वाचन गर्ने सहमति बनेपछि तत्कालका लागि दलहरुलाई उम्मेदवार छनोट गर्ने सकस टरेको छ।

यसअघिको मितिअनुसार मनोनयन–पत्र दर्ता गर्ने समय नजिकिँदै जाँदा उम्मेदवारको अन्तिम नामवली तयार गर्न दलहरुलाई ठूलै समस्या परेको थियो। अहिले निर्वाचनको मिति धकेलिएसँगै दलहरुले राहत महसुस गरेका छन्। विगतमा आकांक्षी धेरै देखिएपछि जिल्लाका प्रमुख दलहरुले नै उम्मेदवार सिफारिस र अन्तिम निर्णय लिन सकेका थिएनन्।

दोस्रो चरणमा निर्वाचनले उम्मेदवारको छनोट र सिफारिस गर्न थप समय मिलेको र थप छलफलपछि मात्रै उम्मेदवार टुंगो लगाइने नेकपा एमाले प्रचार विभाग प्रमुख मनोज पौडेल बताउँछन्। ‘तत्कालका लागि समयको दबाब बेहोर्नुपर्ने अवस्था सकियो’, उनले भने– ‘अब राम्ररी छलफल गरेर निर्णयमा पुगिन्छ।’ निर्वाचनको मिति सर्ने निश्चित भएपछि गाउँपालिकामा वडा अध्यक्ष र सदस्य उम्मेदवारको नाममा अन्तिम निर्णय र नगर प्रमुख र उपप्रमुखको नाम माथिल्लो कमिटीमा सुझावसहित सिफारिस गर्न पार्टीको जिल्ला बैठक आगामी आइतबार बस्ने तयारी भएको उनले बताए।

जिल्लाका २ गाउँपालिकाबाहेक अन्यमा गाउँ र नगरका लागि तीनभन्दा बढी आकांक्षीको नाम आएपछि एमालेले उम्मेदवारको अन्तिम टुंगो लगाउन सकेको छैन। सुवर्णपुर प्रमुखमा सतपाल यादव र देवतालमा विजय पाण्डेको नाम सर्वसम्मत सिफारिस भएको छ। यसअघि सममति जुट्न सकेका गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यसहित नगर मेयर उपमेयरको नाम टुंगो लगाउन सम्बन्धित कमिटीको सुझावमा जिल्ला कमिटी सचिवालय बैठकले माथिल्लो कमिटीमा सिफारिस गर्ने प्रक्रिया अघि बढाएको थियो।

स्रोतका अनुसार सो पार्टीबाट जितपुर सिमरा उप–महानगरपालिका प्रमुखमा ११, निजगढ, कोहल्हवी नपामा ७–७ र महागढीमाई तथा सिम्रौनगढ नपामा समेत ३ भन्दा बढी आकांक्षीको नाम सुझाव प्राप्त भएको छ। जिल्लाका अधिकांश वडा अध्यक्ष र सदस्य पदमा पनि एमालेभित्र आकांक्षीको सूची लामो छ। सरकारले दुई चरणको चुनावी तालिका सार्वजनिक गरेर जनताको भावना र राष्ट्रहितविपरीत काम गर्न खोजेको एमाले नेता पौडेको आरोप छ।

तर, अन्य पार्टीका जिल्ला नेताहरु भने सरकार र असन्तुष्ट दलहरुबीचको सहमतिपछि मात्र जिल्लामा निर्वाचनको वातावरण तयार हुन लागेको बताउँछन्। अब बैठक बसेर उम्मेदवारको नाम छनौट र सिफारिस प्रक्रिया शुरु गर्ने नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताले बताए। कांग्रेसका सभापति भोला चौरसिया आकांक्षी धेरै भएपछि उम्मेदवार छनोटमा केही दबाब बेहोर्नुपरेको सुनाउँछन्। ‘अब भने दुई चरणमा गर्ने सहमतिले पर्याप्त समय मिलेको छ’, उनले भने– ‘अब प्रक्रियाअनुसार छलफल गरेर वस्तारै टुंगो लाग्दै जान्छ।’

प्रतिक्रिया दिनुहोस्