नयाँ मितिले जनउत्साह घट्यो



अनिल खत्री, गुल्मी

स्थानिय तहको निर्वाचन मिति नजिकै आइरहेको बेला सरकारले ४ वटा प्रदेशमा नयाँ मिति तय गरेपछि जनतामा उत्साह घट्न थालेको छ। चुनाव मुखैमा आएर निर्वाचन सार्दा जनतामा जागेको उत्साह फेरि सेलाउन थालेको हो। नयाँ मिति तय भएअनुसार प्रदेश नं. ५ मा जेठ ३१ मा निर्वाचन हुने भएको छ।

वैशाख ३१ गतेका लागि भोट दिने मनासाय बनाएका उत्साहित बनेका गुल्मीको इस्मा गाउँपालिका वडा नं. २ प्रेमबहादुर खत्री भन्छन्– ‘चुनाव सर्यो भन्ने खबरले शंका उत्पन्न भएको बताए।’ उनले भने– ‘यस्तै हो भने जेठ ३१ मा हुने निर्वाचनको आशा मर्न थाल्यो।’ प्रेमबहादुर मात्र हैन यतिबेला गुल्मीका धेरै जनता चुनाव सरेसँगै चुनाव नहुने हो कि भन्ने शंका गर्न थालेका छन्।

कुन नेता छान्ने भोट कसलाई दिने भन्ने गफ हुने ठाउँमा नयाँ मितिले अब चुनाव हुन्छ कि हुँदैन भन्ने खालका गफ हुन थालेका छन्। ‘पहिले तोकिएकै मितिमा चुनाव हुन्छ भन्ने धेरै आशा थियो, तर फेरि सरेछ, सारिएको मितिमा भए पनि चुनाव हुनैपर्छ’ –मालिका गाउँपालिका स्थानीय राजेन्द्र अधिकारी भने। उनले भने– ‘जनप्रतिनिधि छान्न आतुर छौं, सरकारले सारेको मितिमा जसरी हुन्छ चुनाव गराएरै छोडनुपर्छ।’

चुवानको मिति नजिकिँदै गर्दा देशबाहिर रहेका पनि घर फर्किन थालेका थिए भने कतिपय फर्किसकेका छन्। नजिकै आएको चुनाव सर्नुले खर्च बढ्ने कतिपय स्थानीय नेताहरुको भनाइ छ। ‘मतदातासँगै हिँडेर लामो समयसम्म चुनावी कार्यक्रम गर्नुपर्दा त्यसै खर्च बढिहाल्छ, प्रचारका लागि खर्च नगरी पनि हुन्न’ –एक स्थानीय नेताले भने।

निर्वाचनको दोस्रो मिति सार्वजनिक हुनुअघि जिल्लाका २ नगरपालिका र १० गाउँपालिकामा विभिन्न दलहरुले तीव्रताका साथ आफूतर्फ मतदाता तान्न विभिन्न शैलीका चुनावी अभियान सञ्चालन गरेका थिए। नयाँ मिति सार्वजनिक भएपछि चुनावी कार्यक्रम घटेको देखिन्छ। निर्वाचन मिति सरेलगत्तै मतदाता शिक्षा कार्यक्रम पनि सरेको छ। स्थगित भएको मतदाता शिक्षा कार्यक्रम जेष्ठ ५ गतेदेखि पुनः सञ्चालन हुने जिल्ला निर्वाचन अधिकृत गणेशबहादुर खत्रीले बताए। यसअघि मतदाता शिक्षा कार्यक्रम वैशाख १ गतेदेखि सञ्चालन भएको थियो।
वैशाख ३१ लाई मध्यनजर राखी जिल्ला निर्वाचन कार्यालयले सम्पूर्ण तयारी पूरा गरिसकेको बताएको छ। निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयंसेवकले मतदाताको घर–घरमा पुगेर प्रचारप्रसार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्