अत्याधुनिक सुविधासहितको एम्बुलेन्स सञ्चालन



टंकराज अधिकारी, पोखरा
लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी १ नेपालसँगको सहकार्यमा नेपाल एम्बुलेन्स सर्भिस १०२ ले पोखरामा अत्याधुनिक सुविधासहितको एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।

डिस्ट्रिक्ट ३२५ बी १ नेपालका डिस्ट्रिक्ट गर्भनर बालाकृष्ण बुर्लाकोटी र नेपाल एम्बुलेन्स सर्भिस १०२ का अध्यक्ष ओमराज राजभण्डारीले सोमबार एक समारोहका बीच एम्बुलेन्स सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन। सन २०१० देखि काठमाडौं उपत्यकामा ८ ठाउँ र चितवनमा १ ठाउँमा अत्याधुनिक सुविधायुक्त एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको नेपाल एम्बुलेन्स सर्भिसले पोखरामा पनि सञ्चालनमा ल्याएको हो।

पोखरास्थित लायन्स क्लबहरूको ब्यवस्थापनमा सञ्चालन हुने उक्त एम्बुलेन्समा तालिम प्राप्त चिकित्सकहरूको टोली रहने र बिरामीले अस्पताल पुग्नुअगाडि पाउनुपर्ने सम्पूर्ण चिकित्सकीय सुविधा पाउने बताएका छन्।

पोखराको मालेपाटनस्थित सशस्त्र प्रहरी बलको कालीका गणभित्र रहने सो एम्बुलेन्सको सेवा लिन १०२ नम्बरमा फोन गर्नुपर्नेछ, र फोन आउनासाथ टोलीसहितको एम्बुलेन्सले बिरामी भएको ठाँउसम्म पुगेर सेवा प्रदान गर्ने एम्बुलेन्स सर्भिसका अध्यक्ष ओमराज राजभण्डारीले बताए। कुनै पनि बिरामीले एम्बुलेन्सभित्र प्रवेश गरेपछि अस्पतालमा प्राप्त हुने सम्पूर्ण इमरजेन्सी सेवा प्राप्त गर्न सक्नेछ, अत्याधुनिक सुविधा सम्पन्न सो एम्बुलेन्सलाई प्रि हस्पिटल केयरको रूपमा लिन सकिने उनले बताए।

पोखरामा एम्बुलेन्स सञ्चालनका लागि ७ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ। समितिको संयोजकमा दामु अधिकारी र सदस्यहरूमा टोपबहादुर थापा, मोहनबाबु खड्का, दुर्गा हुमागार्इं, मिलन थापा, राजेन्द्रबहादुर सापकोटा र शैलेन्द्र मोहन भट्टराई रहेका छन्।

एम्बुलेन्स सञ्चालनका लागि मासिक एक हजार सहयोग गर्ने गरी प्याट्रोन मेम्बर घोषणा शुरु गरिएको छ। डिस्ट्रिक्ट गर्भनर बालाकृष्ण बुर्लाकोटीले मेम्बरबापतको शुल्क एक वर्षको १२ हजार रुपियाँ संयोजक दामु अधिकारीलाई हस्तान्तरण गरे। सोही अवसरमा मल्टिपल काउन्सिल चेयरपर्सन सुनिलभक्त श्रेष्ठ, पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन दीपक श्रेष्ठ, डिस्ट्रिक्ट ३२५ बी १ नेपालका इलेक्ट गर्भनर धनराज आचार्य, सञ्चालक समितिका सदस्यलगायतले प्याट्रोन मेम्बर लिने घोषणा गरेका छन्।

एम्बुलेन्स सेवा प्रदान गरेबापत प्रतिबिरामी एक हजार रुपियाँ मात्र सेवा शुल्क लिने बताइएको छ। एम्बुलेन्स सञ्चालनका लागि प्रतिमहिना २ लाख ५० हजार लाग्ने र सञ्चालन रकम संस्थाका सदस्यहरूबाट उठेको रकमबाट खर्च गरिनेछ।
डिस्ट्रिक्ट ३२५ बी १ नेपालका इलेक्ट गर्भनर धनराज आचार्यको विशेष पहलमा पोखरामा सेवा बिस्तार गरिएको हो। इलेक्ट गर्भनर आचार्यको विवाहको २५औं वर्षगाँठ र उनका मातापिताको ५०औं वर्षगाँठ दिनको अवसर पारी आयोजना गरिएको सो कार्यक्रममा परिवारका तर्फबाट एम्बुलेन्स सञ्चालनका लागि नपुग रकम एक वर्षभरि ब्यर्होर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। एम्बुलेन्स सञ्चालक समितिका संयोजक दामु अधिकारीलाई सिड मनिका रूपमा एक महिनाको खर्चस्वरुप २ लाख ५० हजार रुपियाँ प्रदान गरेका थिए।

उक्त अवसरमा बोल्दै मल्टिपल काउन्सिल चेयरपर्सन सुनिलभक्त श्रेष्ठले पोखरामा सञ्चालित उक्त एम्बुलेन्सबाट पोखरेलीले उत्कृष्ठ सेवा पाउने र बिरामीहरू लाभान्वित हुने विश्वास व्यक्त गरे। डिस्ट्रिक्ट गर्भनर बालाकृष्ण बुर्लाकोटीले अस्पताल पुग्नुअघि बिरामीको ज्यान बचाउन अत्याधुनिक एम्बुलेन्स सञ्चालनमा आउनु सुखद् पक्ष रहेको बताउँदै सामाजिक क्षेत्रमा लायन्सले पुर्याएको योगदानको नमुना रहेको धाराण राखे। पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन दीपक श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, नेपाल पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले बोलेका थिए।

प्रतिक्रिया दिनुहोस्