किर्ते गरी जग्गा किनबेचमा संलग्न माओवादी नेता फरार



उत्तम नेपाल, भद्रपुर
जिल्ला प्रहरी कार्यालय झापाले मानव अपहरण तथा जबरजस्ती जग्गा हडप्ने गिरोहका चार जनालाई पक्राउ गरेको १६ दिनपछि सार्वजनिक गरेको छ। करोडौं रुपियाँ मूल्य पर्ने जग्गाका धनी जीवन विष्टलाई अपहरण गरेर जमिन आफ्नो नाममा पास गर्ने गिरोहमा संलग्नलाई झापा प्रहरीले भद्रपुरमा सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएकाहरूमा भद्रपुर–६ का ४० वर्षीय प्रेम न्यौपाने, भद्रपुर–७ का ४३ वर्षीय तेजेन्द्र न्यौपाने, मेचीनगर– ८ का भूपू कान्छा भनिने ४२ वर्षीय अजय राई र मेचीनगर–४ का ४४ वर्षीय राजु कुँवरलाई अनुसन्धान पश्चात प्रहरीले सार्वजनिक गरेको हो। सो घटनाका मुख्य योजनाकार मानिएका श्रीअन्तु १ इलाम स्थायी घर भई बिर्तामोड–५ मा बस्दै आएका ३४ वर्षीय पूजन घिमिरे, झापा अर्जुनधारा–१ का २७ वर्षीय शम्भु दाहाल, बिर्तामोड नगरपालिका ५ का ३८ वर्षीय अग्नि भनिने राजु आचार्य, बिर्तामोडको शुभकामना होटल तथा पार्टी प्यालेसका सञ्चालक भद्रपुर– २ का ४१ वर्षीय लक्ष्मण बस्नेत, बिर्तामोड–६ का ३९ वर्षीय ओम शिवाकोटी, भद्रपुर–१० का टिकाराम लुईंटेल फरार रहेको जिल्ला प्रहरी प्रमुख एसपी शैलेश थापाले जानकारी दिए।

घटनामा संलग्न फरार रहेका अग्नि माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हुन् भने लक्ष्मण बस्नेत माओवादीका मजदूर नेता हुन्। यस्तै टिकाराम लुईंटेल मालपोत कार्यालय भद्रपुरका नासु तथा माओवादी केन्द्र निकट कर्मचारी संगठनका नेतासमेत हुन्।

घटनामा संलग्न पे्रम न्यौपानेको घरबाट जग्गासम्बन्धी कागजात, जिल्ला प्रशासन कार्यालयका खरिदारसमेत रहेका तेजेन्द्र न्यौपानेका घरबाट नक्कली सवारी लाइसेन्स ११ थान, नेपाली नागरिकताको प्रमाणपत्र ६ थान, सवारी साधन सडक इजाजत पत्र ३ थान, विदेशी नागरिकताको राहदानी १ थान, नेपाली राहदानी १ थान, नेपाली सेनामा कार्यरत रहेको प्रमाणपत्र १ थान, जग्गाधनी पूर्जा १ थान आदि महत्वपूर्ण कागजात किर्ते तथा नक्कली पाइएको छ। पक्राउ परेका व्यक्तिहरूलाई १० दिनको म्याद थप गरी प्रहरीले अन्य विस्तृत विवरण खोजी भइरहेको जानकारी दिएको छ।

लगभग १५ करोड मूल्यको उक्त जग्गा हड्प्ने उद्देश्यले हतियार देखाएर विष्टलाई बन्दक बनाइएको बताइएको छ। बिर्तामोडको गरामनीमा रहेको शुभकामना होटलमा माघ १२ गते जग्गा धनी विष्टलाई बन्दक बनाइएको प्रहरीको आरोप छ। जग्गा पास कागजमा त्यसै दिन सहिछाप गराए पनि राजु कुँवरलाई जीवन विष्ट बनाइ माघ २० गते जग्गा पास भएको थियो। विष्टको नागरिकतामा कुँवरको फोटो टाँस गरी जग्गा पास भएको अनुसन्धानबाट देखिएको एसपी थापाले बताए। मालपोतबाट डोर खटि गएको टोलीले शुभकामना होटलमा जग्गा पास गरेको थियो।

अपहरणमा संलग्न सबैका बिरुद्ध मानव अपहरण तथा शरीर बन्दक मुद्धामा अनुसन्धान भइरहेको एसपी थापाले जानकारी दिए। उनले मालपोत कार्यालयबाट डोरमा खटि गएका कर्मचारी पनि अनुसन्धानमा रहेको बताए। बिर्तामोडका जीवन विष्टले आफूलाई अपहरण गरी बन्धक बनाएर करोडौं मूल्य पर्ने जग्गा पास गर्न लगाएको उजुरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्