प्रचण्डलाई मोदीको फोन ‘चुनावलाई सहयोग गर्छौं’



काठमाडौं, (नेस)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार टेलिफोन वार्ता भएको छ। भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर नेपालको स्थानीय चुनावलाई सफल पार्न सहयोग गर्ने वचन दिनुभएको हो।

मंगलबार दिउँसो ४ बजे प्रचण्ड र मोदीबीच करिब १५ मिनेट कुराकानी भएको प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो। टेलिफोनमा मोदीले सबै राजनीतिक शक्तिलाई मिलाएर निर्वाचनमा जान प्रधानमन्त्री प्रचण्डको सफलता भएको भन्दै निर्वाचन सम्पन्न गर्न भारत सरकारको पूर्ण सहयोग र सद्भाव रहने बताउनुभएको थियो।

टेलिफोन वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा सहयोग रहने मोदीको भनाइका लागि धन्यवाद दिँदै नेपाल सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयन गर्ने जवाफ दिनुभएको थियो। ‘भारतीय प्रधानमन्त्री मोदीले उताबाट फोन गर्नुभएको थियो’, सल्लाहकार आचार्यले टेलिफोन संवाद उद्धृत गर्दै भन्नुभयो– ‘नेपाल सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको छ, त्यसलाई सम्पन्न गर्न भारत सरकारको हरतरहको सहयोग रहन्छ।’

संवादमा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्डलाई चुनावको वातावरण बनाउन सफल भएकोमा बधाई दिनुभएको थियो। ‘संविधानमा असन्तुष्ट रहेका समुदाय र वर्गलाई समेत विश्वासमा ल्याएर चुनावमा लाग्नुभएको छ। तपाईंलाई बधाई छ, चुनावमा सहयोग गर्न भारत तयार छ।’ –मोदीको भनाइ थियो। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी भारत भ्रमणमा रहेका बेला पनि भारतले सबै पक्षलाई समेटर निर्वाचनमा सहभागी हुन आग्रह गरेको थियो। असन्तुष्ट मधेसी मोर्चालाई संविधान संशोधनमार्फत निर्वाचनमा सहभागी गराउन सरकारले संविधान संशोधन विधेयक संसद्मा दर्ता गराएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्