अटोरिक्सा चालकको ठगी



नेपाल समाचारपत्र, बाँके । भारतको हिमाञ्चलमा काम गरेर फर्किएका दुई जना नेपालीलाई नेपालगञ्ज नाकामा अटोरिक्सा सञ्चालकले ठगेका छन् ।

भारतको रुपैडिहादेखि नेपालगञ्जसम्मको एकजनाको भाडा एक हजार एक सय २० रुपैया लिएको खुलासा भएको हो । सुर्खेतका रत्न हमाल र प्रेमबहादुर रानासँग नेपालगञ्ज फूल्टेक्राका अटोरिक्साचालक हिमतअलि बेहनाले एक हजार एक सय २० का दरले भाडा लिएका हुन् । हिमाञ्चलमा काम गरेर फर्किएका हमाल र रानालाई रुपैडिहामा जबरजस्ती अटोरिक्सामा बसाएर बेहनाले दुई हजार दुई सय ४० रुपैया लिएका थिए ।
राना र हमालले यतिधेरै रिक्सा भाडा दिदैनौ भन्दा बेहनाले प्रहरी र भन्सारमा मिलाउनु पर्छ भनेका थिए । हिमाञ्चलमा काम गरेर केही महिनामै फर्किएका राना र हमालले जमुनाहा नाका छिर्ने बित्तिकै नेपाल प्रहरीलाई बढी भाडा लिएको बताएपछि बेहना पक्राउ परेका हुन् ।
चुनावको मिति घोषणा भएपछि भारतमा काम गर्न गएका नेपालीहरु धमाधम घर फर्किरहेका छन् । नेपालीको धेरै घर फर्किनेक्रममा नाकामा सधैं लुटपाट हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्