एमालेले सरकारले संविधान संशोधनका लागि संसदमा ल्याएको प्रस्तावको प्रतिरोध गर्ने



पुष्कर बुढाथोकी,भक्तपुर, (नेस)।

नेकपा एमालेले सरकारले संविधान संशोधनका लागि संसदमा ल्याएको प्रस्तावको प्रतिरोध गर्ने भएको छ ।

मंगलबार बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको स्थायी कमिटी बैठकले यस्तो निकर्ष निकालेको हो ।

बैठकपछि संचारकर्मीसँग कुरा गदै एमाले सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराईले स्थानीय तहको अधिकार कटौती गर्ने गरी र राजनीतिक दलहरुलाई धु्रबिकरण गर्ने गरी आएको संबिधान संशोधनको अर्को प्रस्तावको संसदमा प्रतिरोध गर्ने निर्णय गरेको बताउनुभयो ।

बैठकले संविधान संशोधन बिधेयक पारित हुन नदिने समेत निर्णय समेत गरेको उहाँले बताउनुभएको छ ।

भट्टराईले सरकारले ल्याएको प्रस्ताव विगतको भन्दा पनि अझै प्रतिगामी रहेको भन्दै त्यसलाई फिर्ता गराउन दबाब दिने एमालेले निर्णय गरेको जानकारी दिनुभयो ।बैठक भोली पनि बस्ने बताउँदै प्रचार बिभाग प्रमुख भट्टराईले भोली बुधबार बस्ने बैठकले पार्टीको घोषणापत्रलाई अन्तिम रुप दिने र पार्टीका प्रदेश, जिल्ला र मातहतका निकायबाट आएका आधारमा पार्टीका स्थानीय तह निर्वाचनका उम्मेदवारको टुंगो लगाउने बताउनुभयो ।

एमाले स्थायी कमिटी बैठकले बजेट अघि र पछि दुई चरणमा निर्वाचन गराउने सरकारको निर्णय गलत भएको ठहर गरेको छ । एमालेले बजेट ल्याएर निर्वाचन गर्न मिल्ने भनी निर्वाचन आयोगले दिएको अभिव्यक्तिप्रति समेत आपत्ति जनाएको छ । भट्टराईले बजेटपछि चुनाव गर्ने कुरा एमालेले कुनै हालतमा स्वीकार नगर्ने बताउनुभयो ।
एमालेले बजेट भाषण गरेर दोस्रो चरणको चुनाव हुन सक्ने भनी निर्वाचन आयोगले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आयोगको ध्यानाकर्षण गराउने भएको छ । निर्वाचन अघि एमालेले स्थानीय तहको संख्या तलमाथि गर्न नपाउने माग गरेको छ ।

यस अघि हिजो बसेको एमाले बैठकले सरकारले घोषणा गरेको बैशाख ३१ गतेको स्थानीय तहको चुनाव एकै चरणमा गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

निर्वाचन आयोगले एकै चरणमा निर्वाचन गर्न सम्पूर्ण तयारी गरिसकेको अबस्थामा दुई चरणमा चुनाव गर्न खोज्नु चुनाव हुन नदिने, राजनीतिक गतिरोध कायमै राख्ने षडयन्त्र भएको एमालेले निश्कर्ष निकालेको छ ।

बैठकले मधेसी मोर्चालाई देखाएर सरकार चुनाव नगराउने षडयन्त्रमा लागेको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्