राष्ट्रिय प्रशिक्षक श्रेष्ठको प्रतिमा अनावरण



हेटौंडा,(नेस) ।
२०७२ सालको भुकम्पबाट काठमाडौंमा ज्यान गुमाएका तत्कालिन राष्ट्रिय भलिवलका हेटौंडेली प्रमुख प्रशिक्षक केशवलाल श्रेष्ठको प्रतिमा मंगलबार हेटौंडामा अनावरण गरिएको छ ।
हेटौंडा–४ मा रहेको जिल्ला खेलकुद विकास समिति भवनपरिसरमा श्रेष्ठको अर्धकद प्रतिमा अनावरण गरिएको हो । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानले निर्माण गरेको प्रतिमाको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण शर्मादुबाडीले अनावरण गरेका हुन् ।

प्रतिष्ठान अध्यक्ष प्रताप बिष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा श्रेष्ठकी पत्नी मञ्जुकुमारी श्रेष्ठसहित मकवानपुरमा क्रियाशील राजनीतिक दलका नेताहरु र विभिन्न संघसंगठनका पदाधिकारीको सहभागिता थियो ।

२०१५ साल चैत १२ गते मकवानपुरको भैंसेमा जन्मिएका श्रेष्ठले २०३१ सालबाट नेपाली भलिवलको राष्ट्रिय टोलीबाट देशका लागि खेल्न सुरु गरेका थिए भने २०४३ सालबाट उनी प्रशिक्षका रुपमा सक्रिय थिए ।

२०३४ सालदेखि राष्ट्रिय खेलाडीका रुपमा चर्चा कमाउन सफल श्रेष्ठले सन् १९८२ मा भारतमा भएको नवौं एसियन गेमबाट अन्तर्राष्ट्रिय खेल खेल्न थालेका थिए ।

प्रतिमा निर्माणका लागि गृह राज्यमन्त्री तथा सांसद् इन्द्रबहादुर बानियाँँले एकलाख रुपियाँ, युवा व्यवसायी राजेश बानियाँले ५० हजार रुपियाँ र व्यवसायी धन थापाले २५ हजार रुपियाँ सहयोग गरेका थिए ।

मकवानपुरबाट खेल प्रशिक्षकको इतिहासमा सबभन्दा उच्च तहमा पुगेका व्यक्तिको मरणोपरान्त उनले खेलक्षेत्रमा गरेको योगदानको कदर गर्दै प्रतिमा निर्माण गरिएका बिष्टले बताए । प्रतिष्ठानले मकवानपुरमा भलिबल विकासका लागि जिल्लास्तरीय र राष्ट्रियस्तरको प्रतियोगिता गर्ने कार्यतालिका बनाएको छ ।

नेपाली खेलक्षेत्रमा उच्च पदमा कार्यरत् रहँदै मकवानपुरका केशवलालले नेपाली भलिबल विकासमा महत्वपूर्ण योगदान पु¥याएका थिए । मकवानपुरका गौरव श्रेष्ठको भुकम्पबाट जोगिन भाग्ने क्रममा छतबाट लडेका निधन भएको थियो ।

उनको निधनले मकवानपुरले एक कुशल अभिभावक र देशकै खेल क्षेत्रले लगनशील र सक्षम प्रशिक्षक गुमाएको थियो । प्रतिमा निर्माणमा ४ लाख ५० हजार लागत लागेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्