रियल मेड्रिडविरुद्ध मेसी नायक



मेड्रिड, (एजेन्सी)
दुई गोलको योगदान गरेर मेसी नायक बनेपछि बार्सिलोना ‘एल क्लासिको’ म्याचमा विजयी भएको छ।

स्पेनिस ला लिगाका दुई चिर प्रतिद्वन्दी रियल मेड्रिड र बार्सिलोनाबीच आइतबार राति सम्पन्न भिडन्तमा लियोनेल मेसीले खेलको इन्ज्युरी समयको अन्तिम मिनेटमा विजयी गोल गर्दै आफ्नो टिमलाई स्पष्ट ३ अंक दिलाउन सफल भए। रियल मेड्रिडको घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको उक्त निक्कै प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले घरेलु टोलीलाई ३–२ ले पराजित गरेको हो।

नेयमारबिना नै मैदानमा उत्रेको पाहुना टोली बार्सिलोनाविरुद्ध रियल मेड्रिडले खेलको २८औं मिनेटमा कासिमेरोको गोलबाट शुरूआती अग्रता लिएको थियो। तर, रियलले उक्त अग्रता धेरैबेर भने जोगाउन सकेन। खेलको ३३औं मिनेटमा मेसीले दुई डिफेन्डरलाई छक्याउँदै गरेको उत्कृष्ट प्रहारले जाली चुमेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो।

यस्तै खेलको ७३औं मिनेटमा राकिटिकले डि एरिया बाहिरबाट गरेको लामो प्रहार गोलमा परिणत भएपछि बार्सिलोनाले खेलमा २–१ को अग्रता लियो। त्यसको ४ मिनेटपछि कप्तान सर्जियो रामोसले रातो कार्ड देखेपछि रियलले थप दबाब झेल्नुपर्यो। मेसीलाई डरलाग्दो ट्याकल गरेबापत रामोस रातो कार्डका शिकार भएका थिए। दश जनामा खुम्चिए पनि रियल बराबरी गोल फर्काउन सफल भयो।

खेलको ८६औं मिनेटमा मार्सेलोको क्रसमा स्थापन्न खेलाडी जेम्स रोड्रिग्वेजले वान टचमा गोल गरेपछि खेल २–२ को अवस्थामा पुगेको थियो। बराबरीतर्फ उन्मुख उक्त खेल सकिन मात्र १२ सेकेन्ड मात्र बाँकी रहँदा मेसीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाको जित सुनिश्चित बन्यो। उक्त गोल बार्सिलोनाका लागि मेसीको ५००औं गोलसमेत बन्यो। रियल मेड्रिडविरुद्ध मात्र खेलेको ३४ खेलमा उनले २३ गोल गरेका छन्। बार्सिलोनाले जितसँगै रियल मेड्रिडसँग अंक बराबरी गरेको छ। बार्सिलोना ३३ खेलबाट ७५ अंकसहित शीर्ष स्थानमा छ भने एक खेल कम खेलेर दोस्रो स्थानमा रहेको रियल मेड्रिडको पनि ७५ अंक नै रहेको छ।

मेसीको पाँच सय गोल
आइतबार ‘एक क्लासिको’ भिडन्तअन्तर्गत रियल मेड्रिडविरुद्ध खेल सकिन १२ सेकेन्डअघि विजयी गोल गरेका अर्जेन्टिनी लियोनेल मेसीले बार्सिलोनाका तर्फबाट ५००औं गोल पूरा गरेका छन्। बार्सिलोनाका तर्फबाट ५ सय ७७ खेलमा उनले आफ्नो गोल संख्या ५ सय पुर्याएका हुन्।

२९ वर्षीय मेसी बार्सिलोनाको सर्वाधिक गोलकर्तासमेत हुन्। बार्सिलोनामा आबद्ध भएयता उनले स्पेनिस ला लिगामा ३ सय ४३, यूएफा च्याम्पियन्स लिगमा ९४, कोपा डेल रे कपमा ४३, स्पेनिस सुपर कपमा १२, फिफा क्लब वल्र्डकपमा ५ र यूएफा सुपर कपमा ३ गोल गरेका छन्।

उनले पेप ग्वार्डिओला प्रशिक्षक रहेको सिजन २०११⁄०१२ मा ६० खेलबाट सबैभन्दा धेरै ७२ गोल गोल गर्न सफल भएका थिए। सन् २०१२ मा उनले १ वर्षभित्र ९१ गोल गर्दै कीर्तिमानसमेत बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्