कुखुरा हुन् र जनता ?



धरहरा छेउमा हिजो एउटा नयाँ बहस भएको देखेर यसलाई पनि हो कि के हो जस्तो लागेको छ। कुरा बजेटको बारेमा अहिले भइरहेको विवादका सम्बन्धमा हो। जस्तो कि बजेट जेठ १५ गते नै ल्याउनुपर्ने संवैधानिक प्रावधान रहेको छ। त्यो प्रावधान पनि मान्नैपर्ने अवस्था छ भने अर्कातर्फ चुनावको आचार संहिता पनि छ। वैशाख ३१मै निर्वाचन भएको भए ढुक्कले १५ गते बजेट ल्याउँदा हुन्थ्यो। तर, १५ गते चारो छरेझैं बजेट छरेर ३१ गते सबै भोट सरकार पक्षधरले लग्यो भने के गर्ने भन्ने अहिले सत्ता इतरका दललाई चिन्ता देखिन्छ।

निर्वाचन आचार संहिताको कुरा त ठीकै हो तर १५ गते चारो छर्दा जनताले बुझ्दैनन् र दंग परेर कुखुरा बन्छन् भन्ने ठान्नु जनतालाई हेपेको भएन र भन्या ? जनता चारोमा लटपटिन्छन् भनेर दलहरूले कसरी भन्न सकेका होलान् ? यो प्रश्न एक जनाले उठाएको धरहराले सुन्यो। कुरा ठीकै पनि लाग्यो। उनी भन्दै थिए– ‘दलहरूले नेपाली जनतालाई हेपेकै हो र ? कहँँ नेपाली जनता कसैले चारो छर्दैमा नबुझेर पछि–पछि दगुर्ने छन् र ? उनीहरू निकै बुझ्झकी पो छन् त। कसले के गरेको छ त्यो बुझेर नै भोट हाल्छन् नि। कहाँ एक वा दुई हप्ताअघि चारो छरेकै भरमा भोट हाल्छन् र ? विगतको पृष्ठभूमि कस्को के छ हेरिहाल्छन् नि।’ धरहरालाई पनि चित्त बुझ्यो है पाठकवृन्द। यहाँहरूलाई कस्तो लाग्यो कुन्नि ?

प्रतिक्रिया दिनुहोस्