पृथ्वीजस्तो अर्को ग्रह प्राप्त



वासिङटन, (एजेन्सी)
खगोलशास्त्रीले हालै मात्र जीवनका लागि उपयुक्त देखिएको अर्को एउटा ग्रह पत्ता लगाएका छन्। उक्त ग्रह धेरै तातो र धेरै चिसो दुवै नभएको र धेरै टाढा पनि नभएको वैज्ञानिकहरुले बताएका छन्।

उक्त नयाँ, ठूलो, ठोस ग्रह पृथ्वीजस्तै चट्टानयुक्त र पानीका लागि चाहिने तापक्रम रहेको र यसले जीवनका लागि उपयुक्त बासस्थान हुने बुधबार जर्नल नेचरमा प्रकाशित शोधमा उल्लेख गरिएको छ।

एक वर्षभन्दा कम समयमा हाम्रो शौर्य प्रणालीभन्दा बाहिर पत्ता लागेको जीवन सम्भव हुने खालको यो पाँचौं ग्रह हो। तर, अझै पनि यिनीहरु पृथ्वीबाट अपेक्षाकृत नजिक छैनन्। ताराबाट जीव बासस्थानका लागि उपयुक्त इलाकाभित्र पर्ने चट्टानयुक्त ग्रह कुनै पनि स्वरूपमा जीव हुन सक्ने उपयुक्त स्थानका रूपमा लिइन्छ।

शौर्य प्रणालीभन्दा बाहिर पहिलो ग्रह सन् १९९५ मा पत्ता लागेको थियो। नासाको ग्रह अन्वेषक केपलर टेलिस्कोपका कारण हालैका वर्षहरुमा यो संख्यामा विस्फोटक वृद्धि भइरहेको छ। अहिलेसम्म खगोलशास्त्रीहरुले शौर्य प्रणाली बाहिर ५२ वटा जीव बासस्थान उपयुक्त ग्रह र ३ हजार ६ सयभन्दा धेरै ग्रह पत्ता लगाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्