महारानी एलिजावेथलाई राहदानी चाहिँदैन



लन्डन, (एजेन्सी)
जुनसुकै व्यक्तिलाई पनि अन्तर्राष्ट्रिय भ्रमणमा जानलाई राहदानी नभई हुन्न। तर बेलायतका महारानी एलिजावेथलाई भने यसको कुनै जरुरत छैन। विदेश भ्रमणका लागि एलिजावेथलाई पासपोर्ट नचाहिने कुरा बेलायती सरकारी वेबसाइटमै उल्लेख गरिएको छ।

बेलायतबाट जारी हुने पासपोर्टको बाह्य पृष्ठमा शाही हतियारको चिह्न रहेको छ। पहिलो पृष्ठमा भने ‘बेलायती महारानीको विदेश मन्त्रालयले यो पासपोर्टबाहकलाई जो जससँग सरोकार राख्नेले बिना कुनै रोकतोक स्वतन्त्र आवतजावतको अनुमति दिन तथा आवश्यक परेको खण्डमा सुरक्षा र अन्य सहयोग उपलब्ध गराइदिन अनुरोध गर्दछ।’

यसरी बेलायती पासपोर्ट स्वयं नै महारानीको नामबाट जारी हुने भएकाले महारानी आफैले पासपोर्ट बोक्नु आवश्यक नदेखिएको हो। बेलायती शाही परिवारका अन्य सम्पूर्ण सदस्य ड्युक अफ एडिनवर्ग र प्रिन्स अफ वेल्शसँग पासपोर्ट छन्।

बेलायतको सवारी चालक अनुमतिपत्र पनि महारनी एलिजावेथकै नामबाट जारी हुने भएकाले उनलाई सवारी हाँक्न लाइसेन्स र सवारी साधनमा नम्बर प्लेटको आवश्यकता छैन।

त्यसै गरी बेलायतको कुनै पनि कानुनले महारानीविरुद्ध आपराधिक कारबाही गर्ने अधिकार नभए पनि एलिजावेथ स्वयं भने आफ्नो सम्पूर्ण गतिविधि कानुन सम्मत बनाउन निकै होसियारी अपनाउने गर्दछिन्।

प्रतिक्रिया दिनुहोस्