भ्यागुतो खाँदा ज्यान गयो



सोल, (एजेन्सी)
खान हुने सामान्य भ्यागुतो ठानेर जंगली भ्यागुतो खान पुग्दा एकजना दक्षिण कोरियाली पुरुषको ज्यान गएको छ। दायजियोन शहरको एक जलाशयनजिक उनीसहितको एक समूहले पाँचवटा भ्यागुतो समातेको र केही दिनपछि तिनीहरूले त्यसलाई रेस्टुरेन्टमा पकाएर खाएको प्रहरीले जनाएको छ।

भ्यागुतोको मासु खाएको केही समयपछि वान्ता गर्न थालेको ५७ वर्षीय पुरुषको उपचारका लागि अस्पतालमा भर्ना गरिएको भोलिपल्टै मृत्यु भएको थियो। प्रहरीले पकाइएको मासुमा सामान्यतया भ्यागुतोको विषमा पाइने बुफोटेनिन नामक रसायनिक पदार्थको अवशेष फेला परेको बताएको छ।

योन्हाप समाचार निकायले तिनीहरूले जंगली भ्यागुता चिन्न नसकेकाले सो अप्रिय घटना घटेको जनाएको छ। सोही मासु खाने अन्यलाई पनि विष लागेतापनि तिनीहरूको ज्यान जोगिएको छ। दक्षिण कोरियाका लागि बीबीसीका पत्रकार स्टेफन इभान्सले दक्षिण कोरियाका केही ग्रामीण क्षेत्रमा अझै पनि भ्यागुतोको मासु निकै स्वादिलो परिकारको रूपमा लोकप्रिय रहेको बताएका छन्।

तर केही विशेष प्रजातिका भ्यागुताले खतरा महसुस हुनासाथ आफ्नो छालाबाट तत्काल विष निकाल्ने गर्दछन्। मानव शरीरमा ठूलो परिमाणमा बुफोटेनिन प्रवेश भएमा ज्यान जान सक्छ। केही दुव्र्यनीले भने नशाका लागि यस्ता विषालु भ्यागुतो चाट्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्