बैंकिङ एक्स्पो हुने



काठमाडौं, (नेस)
नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बेंकर्स एसोसियसन, माइक्रो फाइनान्स डेभलपमेन्ट बेंकर्स एसोसियसनलगायतका संस्थाको सहकार्यमा वैशाख १५, १६ र १७ गते बैंकिङ एक्स्पो हुने भएको छ।

एक्स्पो बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल राष्ट्र बैंकका उपनिर्देशक विभुप्रसाद अर्यालले नेपालमा पहिलोपटक बैंकिङ एक्स्पो हुन लागेको भन्दै बैंकसम्बन्धी सूचनाका लागि मेला प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। सबै बैंकका बारे एकै ठाउँमा अध्ययन गर्न सकिने हुँदा यसले बैंकिङ सूचना प्राप्तिमा महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो। मिडिया इन्टरनेसनलको संयोजकत्वमा हुने एक्स्पोबारे बैंकर्स संघ सदस्य अशोक शेरचनले बैंकिङ क्षेत्रकाबारे बुझ्न, जान्न र बैंकिङ कर्जाबाट उद्यमी बन्नका लागि यो महत्त्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँले बैंकका नयाँ स्किम एवम् नयाँ प्रविधिबारे पनि मेलामा जानकारी गराइने उल्लेख गर्नुभयो। बैंक, शेयर बजार र बीमाको एकै ठाउँमा सूचना प्राप्ति हुने हुँदा उद्यमशीलतामा लाग्न चाहानेका लागि बैंकिङ एक्स्पो उपयोगी हुने शेरचनले बताउनुभयो।

त्यस्तै डेभलपमेन्ट बैंकर्स एसोसियसनका प्रथम उपाध्यक्ष राजेन्द्र पौडेलले वर्तमान अवस्थामा बैंकिङ क्षेत्र नै अर्थतन्त्रको सम्वाहक भएको भन्दै यस कार्यक्रमले देशमै केही गर्छु भन्नेका लागि धेरै फाइदा पुग्ने बताउनुभयो। उहाँले बैंकिङ पहुँच र वित्तीय चेतना अति महत्त्वपूर्ण भएको भन्दै यसबारे धेरै कुरा जानकारी लिन यो कार्यक्रम सार्थक हुने धारणा राख्नुभयो।

माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकर्स संघका कार्यबाहक अध्यक्ष रामचन्द्र जोशीले पहिलोपटक आयोजना हुन लागेको एक्स्पो बैंक र शेयर बजारमा प्रभावकारी हुने अपेक्षा गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्