पार्टी कार्यालयमा महिला



नेपाल समाचारपत्र
हेटौंडा
आसन्न स्थानीय तह निर्वाचनमा महिलाका सवाललाई प्राथमिकता दिन अनुरोध गर्दै महिला अधिकार मञ्चको टोली मकवानपुरका राजनीतिक दलको कार्यालयमा पुगेको छ। दलको कार्यालयमा पुगेर मञ्चले निर्वाचनमा महिलाको पहुँच र अर्थपूर्ण सहभागिताबारे पार्टीको घोषणापत्रमा समेट्न गर्न अनुरोध गरेको हो।

स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने महिलालाई आर्थिक, सामाजिक, राजनीतिक सुरक्षासहित पार्टीले महिला उम्मेदवारलाई संरक्षण गर्न माग गरिएको छ। महिला अधिकार मञ्च मकवानपुर अध्यक्ष निर्मला भ्लोनको नेतृत्वमा पार्टी कार्यालयहरूमा गएको टोलीले जिल्लास्थित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा मकवानपुरको कार्यालयमा मागपत्र बुझाएको हो।

मागपत्र बुझ्दै नेपाली कांग्रेसका मुख्य सल्लाहकार माइकल रामचन्द्र अर्यालले आफ्नो पार्टी महिलाका सवालमा संवेदनशील भएको बताए। कार्यक्रममा कांग्रेस मकवानपुरका सल्लाहकार अशोक शाक्य, प्रवक्ता प्रदीप कोइराला, जिल्ला सदस्य इन्दिरा न्यौपाने, नेपाल दलित संघ केन्द्रीय सदस्य पवित्रा विश्वकर्मालगायतको उपस्थिति थियो।

नेकपा एमाले उपाध्यक्ष बद्री लम्सालले एमालेले महिला नेतृत्व विकासका लागि पहल गरिरहेको बताए। नेकपा माओवादी केन्द्र मकवानपुर अध्यक्ष प्रेमबहादुर पुलामीले पार्टी मागका सन्दर्भमा सम्पूर्णरूपले सहमत भएको र माओवादीले विगतदेखि महिलाका सवाल उठाउँदै आएको दाबी गर्दै आगामी दिनमा यसलाई निरन्तरता दिने विश्वास दिलाए।

राप्रपा अध्यक्ष रामहरि न्यौपानेले राप्रपा यस सन्दर्भमा सकारात्मक भएको प्रतिक्रिया दिए। महिलाहरू क्षमता विकाससहित राजनीतिमा लाग्ने हो भने भविष्यमा महिलाले नेतृत्व गर्न सक्ने र यस सन्दर्भमा पार्टी सकारात्मक भएको अध्यक्ष न्यौपानेको भनाइ थियो। कार्यक्रममा पार्टी पूर्वअध्यक्ष एवम् केन्द्रीय सदस्य नवराज विष्टलगायतको उपस्थिति थियो।

मकवानपुर महिला समूह र महिला अधिकार मञ्चले मागपत्र बुझाउने कार्यक्रममा मकवानपुर महिला समूह उपाध्यक्ष राधिका चौलागाईं, कार्यक्रम संयोजक निशा लामा, राष्ट्रिय महिला अधिकार मञ्च मकवानपुर अध्यक्ष निर्मला भ्लोन र सचिव सरला उप्रेतीलगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्