जोशीले ताके काठमाडौं



स्थानीय तहको निर्वाचनका लागि केही साना पार्टीले मेयर पदका लागि आधिकारिक उम्मेदारको टुङ्गो लगाइसकेको अवस्थामा मुलुकको पहिलो महानगरमा शीर्ष दलहरूले भने अझैं उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन्। ठूला पार्टीका अधिकांश आकांक्षी टिकटको दौडधुपमा शक्तिकेन्द्र धाउन व्यस्त छन्। यस्तै अवस्थामा नेपाली कांग्रेसबाट नगरका पुराना कार्यकर्तामध्येका एक राजुराज जोशी पार्टीले आफूलाई मेयरको टिकट दिने विश्वासका साथ निर्वाचनको तयारीमा जुटेका छन्। ‘लो प्रोफाइल’ मा रहेर काम गर्न रुचाउने उनै जोशीसँग नेपाल समाचारपत्रका लागि टीका बन्धनले गरेको कुराकानीको सारसंक्षेपः
राजुराज जोशी
मेयरका दाबेदार

मेयरमा तपार्इंको दाबेदारी किन ?

म विगत ३९ वर्षदेखि पार्टीमा क्रियाशील छु। २०४१ सालमा पार्टीको काठमाडौं जिल्ला सदस्य थिएँ, त्यो बेलादेखि नै पार्टीले दिएको जिम्मेवारी इमानदारसाथ पूरा गर्दै आइरहेको छु। सन् १९९५ मा इन्टरनेसनल युनियन अफ सोसलिस्ट युथको उपाध्यक्षसमेत थिएँ, अहिले म पार्टीको महाधिवेशन प्रतिनिधि साथै महासमिति सदस्य छु। पार्टीको काठमाडौं जिल्ला संगठन निर्माण प्रक्रियाको सन्दर्भ जोड्दा पार्टीका अग्रज दाइ प्रकाशमान सिंह अध्यक्ष रहनुभएका बेला म जिल्लाको सचिव थिएँ। त्यो बेला जुन प्रकारको संगठन बनेकधो थियो, त्यो गतिलो जग थियो। त्यसैको परिणामस्वरूप नेपाली कांग्रेसको काठमाडौं जिल्ला संगठन अहिले पनि सशक्त छ। काठमाडौंमा प्रकाश दाइपछि मैले गरेको योगदानलाई पार्टीले स्मरण गर्नेछ, कदर गर्नेछ भन्ने विश्वासका साथ मेयरका लागि दाबेदारी गरेको हुँ।

तपाईंका अन्य समकक्षीहरूको पनि उत्तिकै दाबेदारी होला ?

१९ वर्षपछि स्थानीय तहको निर्वाचन हुँदा महत्त्वपूर्ण पदहरूमा धेरैको आकांक्षा हुनु स्वाभाविक हो। यो अवधिमा नियमित रूपमा स्थानीय तहको निर्वाचन भएको भए धेरै साथीहरूले महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्न पाउनुहुने थियो। अहिलेको निर्वाचनको कुरा गर्दा धेरै साथीहरू योग्य हुनुहुन्छ, क्षमतावान् पनि हुनुहुन्छ तर यसपटक अधिकांश साथीहरू मलाई नै समर्थन गर्ने पक्षमा हुनुहुन्छ। साथीहरूकै समर्थनमा मैले मेयरको दाबेदारी गरेको प्रस्ट पार्न चाहन्छु। फेरि पनि म दोहोर्याएर भन्न चाहन्छु, यति लामो अवधिमा पार्टीमा मैले कुनै महत्त्वपूर्ण पद दाबी गरेको थिइनँ। अहिले पार्टीले मेरो योगदानलाई मूल्यांकन गर्नेछ।

तपाईंको उम्मेदवारीका बारेमा कार्यकर्ताको धारणाचाहिँ के छ ?

अधिकांश क्रियाशील सदस्यहरू उत्साहित हुनुहुन्छ। कार्यकर्ता र मतदाताले मलाई नजिकबाट नियाल्नुभएको छ, मेरो बारेमा बुझ्नुभएको छ। उहाँहरूकै सल्लाह, सुझावका आधारमा अहिले मैले मेयरको दाबेदारी गरिरहेको हो। २०४९ सालको निर्वाचनमा मलाई पार्टीले मेयरका लागि प्रस्ताव गरेको थियो, त्यो बेला पार्टीको हितका लागि म पछि हटेको थिएँ। पार्टीले समेत मेरो योगदानलाई निस्पक्ष मूल्यांकन गरेर टिकट दिनेमा म विश्वस्त छु।

अहिलेको निर्वाचनामा तपाईंका चुनावी एजेन्डा के कस्ता छन् ?

यदि म मेयरमा निर्वाचित भएँ भने शपथ लिएको भोलिपल्टदेखि नै महानगरका समस्या समाधानका लागि खट्नेछु। नगर क्षेत्रको स्वास्थ्य, शिक्षा, सुरक्षा, विकास निर्माण नै मेरो प्राथमिकताभित्र पर्नेछ। पछिल्लो समयमा काठमाडौंमा बढिरहेको धूवाँ, धूलो नियन्त्रण गर्ने कुरा मेरो पहिलो प्राथमिकता हो। त्यसै गरी बढ्दो ट्राफिक जाम व्यवस्थापन, साँघुरा सडकको विकल्पमा फ्लाइओभर, मेट्रो रेल सञ्चालन गरिनेछ। काठमाडौंमा बढ्दो सुरक्षा थे्रटलाई न्यूनीकरण गर्न महानगरका ३५ वडाभित्रका अधिकांश क्षेत्र सीसी क्यामेराको निगरानीमा रहनेछ। महानगरका सबै वडालाई समेट्ने गरी १ वर्षभित्र २० हजार युवालाई स्वरोजगार बनाउन सूचना प्रविधि केन्द्रित कार्यक्रम कार्यान्वयन गर्ने मेरो लक्ष्य छ। काठमाडौंको मौलिक संस्कृतिको संरक्षण र संवद्र्धनका लागि क्रियाशील हुनेछु। त्यसै गरी काठमाडौंका सार्वजनिक विद्यालयमा खस्किरहेको शैक्षिक गुणस्तर सुधार्न विद्यालय मर्जदेखि अन्य शैक्षिक गतिविधि तयार गरिनेछ।

भूकम्पपीडितका लागि के कस्तो योजना छन् ?

महाभूकम्पले जे–जति मठ मन्दिर भत्काएको छ, जीर्ण बनाएको छ, त्यो तत्काल मर्मत र पुनर्निर्माण कार्य शुरू गरिनेछ। त्यसै गरी भूकम्पले भत्काएका घर तत्काल बनाउन नसक्नेहरूका लागि महानगरपालिका आफैं जमानी बसेर दीर्घकालीन ‘सफ्टलोन’ को व्यवस्थाका लागि पहल हुनेछ। कतिपय अवस्थामा महानगरपालिकाले मात्र समाधान गर्न नसक्ने कार्यहरू सरकारसँगको समन्वयमा समाधान गर्नुपर्ने हुन्छ। हरियाली बढाउने, खुला स्थान र सार्वजनिक पार्क अपरिहार्य छ भन्ने कुरा मैले विस्तृत रूपमा बताइरहनु पर्दैन जस्तो लाग्छ।

हरित नगरका योजना धेरै पटक सार्वजनिक भइसके तर नजिता लगभग शून्य नै देखिन्छ। तपाईंका योजना चाहिँ कसरी परिणाममुखी बन्छन् ?

पक्कै पनि योजना बताइरहँदा बढी नै महत्त्वाकांक्षी जस्तो पनि लाग्ला, तर शहरमा हरियाली बढाउन, खुला स्थान व्यवस्थापन गर्ने, पार्क निर्माण गर्ने, वातावरण संरक्षण र फोहोर–मैला व्यवस्थापन गर्ने व्यावहारिक योजनाको खाका मैले बनाएको छु। नगरलाई हरियाली बनाउन सडक र नदी किनारा र खुला स्थानमा वृक्षरोपण गर्नैपर्छ, तर वृक्षरोपणपछि रोपिएका बोटबिरुवाको नियमित हेरचाह पनि गर्नुपर्छ। महानगरभित्रका धेरै स्थानका सार्वजनिक जग्गा सदुपयोग भएका छैनन्, त्यस्तो स्थानमा सार्वजनिक पार्क बनाउन सकिन्छ, बाल उद्यान, ‘मर्निङ’ र ‘इभिनिङ वाक’ गर्ने ठाउँ अनि ‘जगिङ जोन’ बनाउन महानगरभित्र जग्गाको समस्या छैन। एक घर एक बिरुवा अनिवार्य गरियो भने पनि नगरको सौन्दर्य र हरियाली बढाउने काममा सघाउ पुग्छ। यहाँका प्रदूषण र अतिक्रमणमा परेका वाग्मती र विष्णुमती जस्ता नदीलाई पुनः जीवन दिन अहिले अभियान चलिरहेको छ। त्यसका लागि महानगरबाट पनि विशेष किसिमका योजना अघि सार्न सकिन्छ। उपत्यकामा खुला स्थान अपरिहार्य छ भन्ने कुरा २ वर्षअघिको भूकम्पले पुष्टि गरिसकेकाले खुला स्थानको व्यवस्थापन पनि उत्तिकै महत्त्वपूर्ण कार्य हो।

तपाईंले बताएका योजना धेरै महत्त्वाकांक्षी भएनन् र ?

झट्ट सुन्दा मैले अघि सारेका योजना धेरै महत्त्वाकांक्षी समेत लाग्ला तर धेरै योजनाहरू जनतासँगको सहकार्यमा दीर्घकालीन र सफल बनाउन सकिन्छ। जस्तै मेट्रो रेलको निर्माण गर्दा जनतालाई नै शेयर होल्डर बनाउन सकिन्छ, नगरको फोहोरलाई व्यवस्थापन गरेर फोहोरलाई मोहोर बनाउने कुरामा पनि जनसहभागिता अपरिहार्य हुन्छ। मुलुकको राजधानीसमेत रहेको महानगरका शतप्रतिशत समस्या एउटै कार्यकालमा समाधान गर्ने प्रयास गर्नेछु तर व्यावहारिक योजना अघि सारियो भने पक्कै पनि नतिजा राम्रो आउनेमा म विश्वस्त छु। जनताले परिवर्तन महसुस गर्न सक्ने योजना हुनुपर्छ भन्ने मेरो मान्यता हो, विस्तृत योजना पार्टीले मलाई टिकट दिएको १ हप्ताभित्रैमा सार्वजनिक गर्नेछु।
मुलुकको राजधानीसमेत रहेको महानगरका शतप्रतिशत समस्या एउटै कार्यकालमा समाधान गर्ने प्रयास गर्नेछु तर व्यावहारिक योजना अघि सारियो भने पक्कै पनि नतिजा राम्रो आउनेमा म विश्वस्त छु। जनताले परिवर्तन महसुस गर्न सक्ने योजना हुनुपर्छ भन्ने मेरो मान्यता हो

प्रतिक्रिया दिनुहोस्