अभिनेता सिंहको अन्तिम संस्कार



अभिनेता तथा फिल्म निर्माता प्रदीप सिंहको सोमबार काठमाडौंमा अन्तिम संस्कार गरिएको छ। मृगौलाको समस्या व्यहोरिरहेका उनको भारतको कलकत्तास्थित कलकत्ता मेडिकल एन्ड रिसर्च सेन्टरमा उपचारका क्रममा गत शुक्रबार बिहान निधन भएको हो।

उनको २ वर्षअगाडि मृगौलाले काम गर्न छोडेको थियो। उनले भारतको कलकता गएर मृगौला प्रत्यारोपण गराएका थिए। त्यस क्रममा हृदयघात भए पनि उनी सफल मृगौला प्रत्यारोपणपछि काठमाडौं फर्केका थिए। काठमाडौं आएपछि पनि उनी उपचारमै थिए। तर, केहीअघि स्वास्थ्यमा समस्या भएपछि उनलाई परिवारले उपचारका लागि कलकता पुर्याएको थियो। उपचारकै क्रममा हृदयघात भएपछि उनको निधन भएको बताइएको छ।

५८ वर्षीय उनको पार्थिव शरीरलाई अस्पतालको औपचारिकता पूरा गरी सोमबार कलकत्ताबाट नेपाल ल्याई अन्तिम संस्कार गरिएको हो। उनको पार्थिव शरीर सोमबार साँढे ३ बजे नेपाल ल्याइएको थियो। त्यहाँबाट अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठान प्रांगणमा पुर्याइएको थियो। उनको पार्थिव शरीर प्रतिष्ठान र अन्तिम संस्कारका लागि पशुपति आर्यघाटमा पुर्याउने व्यवस्था नेपाल चलचित्र कलाकार संघले गरेको थियो। प्रतिष्ठानमा उनलाई कलाकार संघका अध्यक्ष रामकेशर बोगटी र फिल्मकर्मी नीर शाहले संघको झण्डा ओढाएका थिए। जहाँ सूचना तथा सञ्चारमन्त्री सरेन्द्रकुमार कार्की संघका अध्यक्ष बोगटी, फिल्मकर्मीहरु नीर शाह, कृष्ण मल्ललगायतको सिंहका बारे प्रकाश पार्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए। त्यसै गरी विभिन्न कलाकर्मी, आफन्त र शुभचिन्तकले अन्तिम दर्शन गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्