कहाँ बिर्सनु त्यो आतंक ?



दुई वर्षको बीचमा गएका ३४ हजारभन्दा बढी पराकम्पले त्यो त्रासदीलाई अझै सम्झाइरहेको छ।

टीका बन्धन, काठमाडौं
आज वैशाख १२ गते। गोरखाको बारपाक केन्द्रविन्दु भएर महाभूकम्प गएको ठीक २ वर्ष पुगेको छ। वर्ष बदलिए पनि सो दिन र त्यसले निम्त्याएको परिस्थिति र हामी धेरैले भोगेको दुःख, कष्ट हिजोअस्तिझैं लाग्छ। कसैले पनि बिर्सन सकेको पाइँदैन।

केही महिनायता पराकम्प जाने क्रम पातलिए पनि त्यो क्रम पूर्ण रूपमा रोकिएको भने छैन। पराकम्पले गर्दा त्यति बेलाको भूकम्पको आतंक बारम्बार सम्झाउने काम गरिरहेको छ। पछिल्लोपटक २ महिनाअघि रामेछाप केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको पराकम्प दोहोरिएको थियो। गोरखा भूकम्पपछिको २ वर्षको अवधिमा साना–ठूला पराकम्प ३४ हजारभन्दा बढी दोहोरिएको राष्ट्रिय भूकम्पमापन केन्द्रको तथ्यांक छ। यस अवधिमा ४ रेक्टर स्केलभन्दा माथिका ४ सय ७९ पराकम्प दोहोरिएको केन्द्रले जनाएको छ।

विगत १ वर्षको अवधिमा ३ हजारभन्दा बढी साना–ठूला पराकम्प दोहोरिएको केन्द्र प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो। हरेक दिन औसतमा साना–ठूला ८⁄१० कम्प दोहोरिने गरेको र अधिकांश कम्प ४ रेक्टर स्केलभन्दा कमका भएकाले सर्वसाधरणले प्रस्ट रूपमा महसुस गर्न नसक्ने प्रकृतिका भएको उहाँले बताउनुभयो।

‘सामान्यतया ठूलो भूकम्पपछि स–साना पराकम्प दोहोरिनु नौलो कुरा होइन’, उहाँले भन्नुभयो– ‘केही महिनायता गोरखा भूकम्पपछिको पराकम्पको संख्या घट्दै गएको छ, तर पराकम्प कहिलेसम्म दोहोरिन्छ भनेर मिति तोक्न भने सकिँदैन।’ गोरखा केन्द्रविन्दु भएर गएको ७ दशमलव ९ रेक्टरको भूकम्पपछि दोहोरिएका कम्प नै पराकम्प हो। विज्ञहरू भने ठूलो भूकम्पपछिको दरार ‘रेप्चर’ क्षेत्र आसपासमा दोहोरिने कम्पलाई पराकम्पको रूपमा बुझ्ने गर्छन्।

भूकम्प जोखिम क्षेत्रभित्र पर्ने नेपालमा गोरखा भूकम्पपछिको पराकम्प मात्र होइन, २०७२ वैशाख १२ को २ वर्षको अवधिमा मुलुकका धेरै ठाउँमा धेरैपटक भूकम्प गइसकेको केन्द्रको तथ्यांक छ। विभिन्न जिल्लामा २ वर्षको अवधिमा ४ रेक्टर स्केलभन्दा माथिका २९ वटा भूकम्प गइसकेको केन्द्रले जनाएको छ। यस अवधिमा बाजुरा, रुकुम र बझाङ केन्द्रविन्दु भएर ५ रेक्टर स्केलभन्दा माथिका ३ वटा भूकम्प गएका छन्।

राष्ट्रिय भूकम्प मापन केन्द्रले मुलुकका विभिन्न २१ स्थानमा स्थापना गरिएका सेस्मिक स्टेसनबाट भूकम्पको कम्प र अन्य अध्ययन अनुसन्धान गर्दै आएकामा त्यस्ता स्टेसनको संख्या थपिने भएको छ। चीन सरकार र भूकम्पबारेको अध्ययन अनुसन्धानमा क्रियाशील थाइल्याण्डको ‘राइम्स’ संस्थाको आर्थिक र प्राविधिक सहयोगमा १४ स्टेसन थपिन लागेको हो। चीनको सहयोगमा नयाँ स्टेसन थपिने प्रक्रिया अघि बढिसकेकाले मुलुकको उत्तरतर्फका १० स्थानमा स्टेशन स्थापना गर्ने गरी सर्भेको काम भइरहेको केन्द्र प्रमुख अधिकारीले जानकारी दिनुभयो।

यसअघि २१ स्टेशन स्थापनाका लागि फ्रान्सले आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराएको थियो। फ्रान्सकै सहयोगमा सन् १९७९मा मुलुकमा पहिलोपटक ललितपुरको फुलचोकीमा परीक्षणका रूपमा सेस्मिक स्टेसन स्थापना भएको थियो। यससँगै केन्द्रले सबै स्टेसनको सूचनालाई स्तरोन्नति गरी डिजिटल पद्धतिमा रूपान्तरण गर्ने काम अघि बढाएको जनाएको छ। ‘यसअघि एनालग शैलीमा संकलन हुँदै आएको सूचनालाई डिजिटल पद्धतिमा रूपान्तरण गर्ने काम भइरहेको छ’, सो केन्द्रका एक प्राविधिकले भने– ‘नयाँ पद्धतिले भूकम्पीय सूचना र तथ्यांकलाई गुणस्तरीय र समयसापेक्ष बनाउन सघाउ पुर्याउनेछ।’

फेरि भूकम्पको धक्का

काठमाडौं, (नेस)
सिन्धुपाल्चोकको बरम्चीलाई केन्द्रबिन्दु बनाएर सोमबार भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएअनुसार सोमबार साँझ ५ बजेर ४ मिनेटमा ४ दशमलव २ म्याग्निच्युडको धक्का महसुस गरिएको हो।

प्रतिक्रिया दिनुहोस्