आगोले एकै घरका तीन बच्चाको मृत्यु



कुमार श्रेष्ठ, कुडवा (बाँके)
चार जना दिदी–भाइ मामाघरमा गएका थिए। बुबा मुन्सीराम मौर्य (मुराउ) लिन गएपछि आइतबार नै दुई दिदी र एक भाइ घर आए। उनीहरू पाँच दिनपछि घर आएका थिए।

छोराछोरीलाई घरमा ल्याएपछि मुन्सीरामले बुबा रामदुलारेको घरमा खाना खान पठाए। त्यहीँ खाना खाएर १० वर्षीया सोनी, ८ वर्षीया राधना र ६ वर्षीय पवन एउटै खटियामा सुते। मध्यरातमा घरमा आगो लाग्यो। कतै भाग्न नपाएर तीनै जनाको जलेर मृत्यु भयो। रामदुलारेको घरबाट सल्केको आगोले अरू नौ घर र दुई गोठ जले।

गत भदौमा छोरा जन्माएर मुन्सीरामकी पत्नी परलोक भएकी थिइन्। आठ महिनाका छोरा छोड्कौ मौर्य पनि त्यही घरमा हजुरआमासँग सुतेका थिए। ढोकाको छेउमा सुतेका हजुरबुबा रामदुलारेले आगो लागेको थाहा पाउनेबित्तिकै पत्नीलाई नाती च्यापेर भाग्न सघाएर चिच्याए। अरू तीन नातिनातिनी बाहिर निस्किन सकेनन्। ‘पछाडिबाट आगो सल्केको थाहा पाएपछि मैले सानो नाति च्यापेर सुतेकी पत्नीलाई भाग्न भने’, रामदुलारेले भने– ‘म पनि बाहिर निस्किएँ। अरू नातिनातिनीलाई भाग्न चिच्याउँदा उनीहरू निस्किन सकेनन्।’ आगो सल्केको ठाउँतिर नै तीन जना सुतेका थिए।

मुन्सीरामका तीन छोरी र दुई छोरा थिए। जेठीछोरी गायत्री मामाघरमै थिइन्। बुवा लिन जाँदा उनी घरमा आएकी थिइनन्। पत्नीको मृत्युपछि मुन्सीरामका छोराछोरीले हजुरआमाको घरमै खाना खाने गर्दथे। मुन्सीराम गहुँमा ठेसर लगाउनका लागि राती बाहिर जानुपर्ने भएकाले छोराछोरी हजुरआमाको घरमै सुतेका थिए। मुन्सीरामको घर बुबाको भन्दा ३० मिटरजतिको दूरीमा छ। उनको घर बचेको छ। छोराछोरी आफ्नै घरमा सुतेको भए बच्थे। ‘छोराछोरी रातीमा एक्लै हुन्छन् भनेर बुबाको घरमा सुत्न पठाएर म गहुँमा ठेसर लगाउन गएको थिएँ’, मुन्सीरामले भने– ‘राति सवा १२ बजेतिर घरमा आगो लागेको थाहा पाएर दौडिएर आउँदा त छोराछोरीको मृत्यु भइसकेको थियो।’

कुडवागाउँमा लागेको आगोले अरू आठ घर र दुई गोठ जलेका छन्। धनीराम यादव, गोवद्र्धन मौर्य, त्रिभुवन मौर्य, मिनादेवी मौर्य, नन्कु मौर्य, नथ्थु मौर्य र मालती यादवको घर जलेको छ। आइतबार राति बाँकेमा पानीसहित हावाहुरी आएको थियो। पानी र हावाहुरी बन्द भएपछि आगलागी भएको स्थानीयले बताए। आगोलाई करिब दुई घण्टापछि प्रहरी र स्थानीयबासीले निभाएका थिए।

नेपालगन्जबाट दमकल गएको भए पनि अप्ठइरो बाटोले गर्दा समयमा पुग्न सकेन। सबै फुसका घर भएकाले आगोले छिनभरमै स्वाहा बनाएको थियो। कसैले पनि घरमा रहेको खाद्यान्न र लत्ताकपडा निकाल्न पाएनन्। प्रहरीले आगलागीबाट १० लाख रुपियाँ बराबरको क्षति भएको जनाएको छ।

आगलागी पीडितलाई सोमबार बिहानै रेडक्रसले त्रिपाल, भाँडाकुँडा र खाद्यान्न सहयोग गरेको छ। पछिल्लो केही हप्तायता बाँकेमा दैनिकजसो नै साना ठूला आगलागी भएका छन्। बाँकेको राप्तीपारी वर्षेनी ठूल्ठूला आगलागी हुने गर्दछ। जिल्लामा एउटामात्रै दमकल रहेकाले त्यो समयमा पुग्न सकेको पाइँदैन।

राप्तीपारीका लागि एउटा दमकल किनेर उतै राख्ने योजना बने पनि त्यो अहिलेसम्म पूरा हुन सकेको छैन। यसैबीच, विभिन्न पार्टीका नेताहरू आगलागी भएको कुडवागाउँमा पुगेका छन्।

चुनाव नजिकिँदै गर्दा कांग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरू गाउँमा पुगेर सहानुभूति प्रकट गरेका हुन्। गाउँपालिकाको अध्यक्षका दाबेदारदेखि वडा सदस्य र जिल्लाका नेतृत्वहरू घटनास्थलमा पुगेका छन्। एमालेबाट डुडुवा गाउँपालिकाको प्रमुखको उम्मेदवार चर्चामा रहेका सकिल अहमद खाँ एउटा टोली नै लिएर घटनास्थलमा पुगेका थिए। घटनास्थलमा एमालेका वैकल्पिक केन्द्रीय सदस्य मो. हारुन हल्वाई पनि पुगेका थिए।

घटनास्थलमा संघीय समाजवादी फोरमका नेता इस्तियाक राइन पनि पुगेका थिए। कांग्रेसका नेताहरू पनि कुडवामा पुगेर सहानुभूति प्रकट गरेका छन्। आगलागी पीडितलाई सहानुभूतिसँगै गाउँका अरूसँग नेताहरूले चुनावी चर्चा गरेका छन्। घटनास्थलमा बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, प्रहरी प्रमुख एसपी टेकप्रसाद राईलगायतको पनि टोली पनि पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्