सवारी दुर्घटनामा २ को मृत्यु



बाजुरा, (नेस)
बाजुराको सदरमुकाम मार्तडीबाट गौमुल नगरपालिकाको घटमनातर्फ गइरहेको से१ज ६३९ नम्बरको जिप आइतबार दिउँसो दुर्घटना हुँदा दुई यात्रुको घटनास्थलमै मृत्यु भएको छ। सडक दुर्घटनामा परी मृत्यु हुनेमा गौमुल गाउँपालिका–६ सटेडा घर भई घटमनामा व्यापार गर्दै आएकी वर्ष ४५ की लाली रोकाया र सोही नगगरपालिका–४ बगरका वर्ष २१ का रकेट रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले जानकारी गराउनुभएको छ।

जिपमा सवार ९ जना घाइतेमा ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। प्रत्यक्षदर्शी नवराज पण्डितका अनुसार घाइतेको भौनेरा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घाइतेमध्ये सवारी चालकको अवस्था गम्भीर रहेको बताइएको छ। घाइते हुनेमा गंगबहादुर रोकाया मानाकोट, सर्खै रोकाया गौमुल, तुल्सी बोहरा पाण्डुसैन, रूपबहादुर बोहरा बढिमालिका, रूपसिंह बुढथापा, अंकित बुढथापा गौमुल, पर्वा रोकाया गौमुल, लक्ष्मण थापा, वीरेन्द्र रोकाया रहेका छन्।

जिप बढिमालिका नगरपालिकाको गणुलपाटा भन्ने ठाउँमा दुर्घटना भएको हो। सडकबाट करिब २ सय ५० मिटर तल खसेको प्रत्यक्षदर्शी नवराज पण्डितले बताएका छन्। गाडी मोड्ने बेला कच्ची बाटोका कारण घुम्तीमा नपुगेर जिप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

जिप विद्युत् लाइनको तारमा खस्दा लाइनको तार चुँडिएपछि सो क्षेत्रको विद्युत् सेवा पनि अवरुद्ध भएको छ। दुर्घटना क्षेत्रमा टेलिफोन टावर नलाग्दा सम्पर्क हुन नसक्दा थप विवरण आउन बाँकी छ। सदरमुकामबाट उद्धारका लागि नेपाल प्रहरीको टोली घटनास्थलतर्फ गईसकेको प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले जानकारी दिएका छन्।
दुई दिनको अन्तरालमा बाजुरामा २ र बाजुराबाट नेपालगन्जका लागि गएको बस डोटीको सानागाउँमा दुर्घटना भएको थियो। दुवै दुर्घटनामा गरी ३५ बढी यात्रु घाइते छन् भने २ को सवारी दुर्घटनामा ज्यान गइसकेको छ।

प्रतिक्रिया दिनुहोस्