सल्यानमा ११ अवैध संस्थागत विद्यालय सञ्चालन



सरिता चलाउने, सल्यान
जिल्लामा अवैध रूपमा निजी विद्यालय सञ्चालन गरिरहेको पाइएको छ। संस्थागत विद्यालयले जिल्लाका विभिन्न स्थानमा ११ अनुमति नलिई कक्षा सञ्चालन गरेको पाइएको हो। अवैध रूपमा सञ्चालन गरिएका बोर्डिङहरूले १ देखि ३ कक्षासम्म सञ्चालन गरेको पाइएको छ।

अवैध रूपमा सञ्चालन गरिएका संस्थागत विद्यालयहरू १५ दिनभित्र जसरी पनि बन्द गरिने जिल्ला शिक्षा अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘शिक्षा कार्यालयमा अनुमति नै नलिई ११ बोर्डिङ सञ्चालन भइरहेको पाइएको छ ती सम्पूर्ण बोर्डिङहरूलाई अबको १५ दिनभित्र जसरी पनि बन्द गरिनेछ।’

बालबालिकाहरूको भविष्यमाथि खेलबाड गर्ने अधिकार कसैलाई पनि नभएको बताउँदै जिशिअ सुवेदीले जुनकुनै अवस्थामा पनि अवैध रूपमा चलिरहेका संस्थागत विद्यालय बन्द गरिने बताउनुभयो। तल्लो कक्षाको अनुमति लिई माथिल्लो कक्षा सञ्चालन गरेका संस्थागत विद्यालयलाई समेत जरिवानासहित कारबाही गरिने सुवेदीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘जिल्लाभर अध्ययन गर्दा १८ निजी विद्यालयले तल्लो कक्षाको अनुमति लिएर माथिल्लो कक्षा सञ्चालन गरी रहेको पाइएको छ तर यस शैक्षिक शत्रदेखि १ विद्यालयले पनि अनुमति नलिएर कक्षा पढाएको पाइएमा उसको कारबाही स्वरूपम अनुमति खारेजीसम्म गरिनेछ।’

अनुमतिविना सञ्चालन रहेका विद्यालयमा बालबालिकाहरूलाई भर्ना नगर्न समेत अभिभावकहरूलाई जिशिअ सुवेदीले अनुरोध गर्नुभयो। निजी स्कुल भन्नेबित्तिकै अभिभावकहरू शिक्षक कस्ता छन् ? अनुमति लिएको छ कि छैन ? भौतिक संरचना कस्तो छ ? कुनै ख्यालै नगरेर भर्ना गर्न हतार गर्नु हुन्छ जसले आफ्नो बालकालिकाहरूको भविष्य अन्धकार भएको थाहै पाउँदैनन्। आफ्ना बालबालिकाको भविष्य सुनिश्चित गर्नका लागि अनुमति पाएका र योग्य शिक्षक भएको विद्यालयमा मात्र पठाउन अभिभावकहरूलाई सुवेदीले आग्रह गर्नुभयो।
देशैभर धेरै मात्रामा अनुमति नलिईकन निजी विद्यालयहरू सञ्चालन भए पनि अनुगमनमा कडाइ नहुँदा समस्या उत्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्