बैतडीमा पाठ्यपुस्तक अपुग



नेपाल समाचारपत्र
बैतडी
नयाँ शैक्षिक सत्र शुरू भइसक्दा समेत बैतडीमा ३० प्रतिशत पाठ्यपुस्तक अपुग भएको छ। जिल्ला शिक्षा अधिकारी लाल सिंह टेरका अनुसार मागको ७० प्रतिशत मात्र पाठ्यपुस्तक उपलब्ध भएका हुन्।

आधारभूत तहको कक्षा १ देखि ५ सम्मका करिब सबै पाठ्पुस्तक मागअनुसार पुगेको भए पनि कक्षा ६ देखि १० सम्मका ७० प्रतिशत मात्रै पाठ्यपुस्तक उपलब्ध भएका छन्। ‘६ देखि १० सम्मका पूरै सेट आएका छैनन्’, उहाँले भन्नुभयो– ‘विशेष गरेर ऐच्छिक विषयका पाठ्यपुस्तक अपुग छन्।’

यस्तै कक्षा ६ र ७ का विज्ञान र सामाजिक विषयका पाठ्यपुस्तक पनि अपुग रहेको जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ। सरकारले निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको भए पनि समयमै विद्यार्थीको हातमा पाठ्पुस्तक नपुग्दा पढाइ प्रभावित हुने गरेको छ।

जनक शिक्षा सामग्री तथा साझा प्रकाशन छपाइमा लागिपरेकाले अबको केही दिनभित्रै अपुग पाठ्यपुस्तक उपलब्ध हुने बताइएको भए पनि वैशाख ३१ मा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मतपत्र छपाइको काम भइरहेकाले केही समय लाग्न सक्ने आशंका गरिएको छ।

बैतडीमा विद्यालय उमेर समूहका ३ प्रतिशत बालबालिकालाई विद्यालयको पहुँचभन्दा बाहिर रहेका छन्। विद्यालयको पहुँचभन्दा बाहिर रहेका ती बालबालिकालाई विद्यालय पहुँचमा ल्याउन जिल्ला शिक्षा कार्यालय बैतडीले भर्ना अभियानलाई तीव्रता दिएको छ।

सरकारले विद्यालय भर्ना अभियान सञ्चालन गरिरहेका बेला बैतडीमा विभिन्न क्षेत्रमा रहेका ३ प्रतिशत बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने पहल भइरहेको जिल्ला शिक्षा अधिकारी लाल सिंह टेरले बताउनुभयो। ‘वैशाख १४ गतेसम्म भर्ना अभियान खुला गरेका छौं’, उहाँले भन्नुभयो– ‘१५ गतेदेखि ३० गतेसम्म घरदैलो अभियान गर्दै छौं।’

विद्यालय उमेर समूहका बालबालिका के कति कारणले विद्यालयको पहुँचसम्म पुग्न नसकेको भनी सम्बन्धित स्रोत व्यक्तिबाट पत्ता लगाइने बताइएको छ। आर्थिक अवस्था कमजोर भई विद्यालयको पहुँचसम्म पुग्न नसकेको भए जनसंख्या शिक्षा कोषबाट सम्बन्धित विद्यालयलाई बजेट उपलब्ध गराएर बालबालिकालाई विद्यालय भर्ना गराउने, पोशाक, शैक्षिक सामग्री उपलब्ध गराउने कार्यक्रम रहेको जिल्ला शिक्षा अधिकारी टेरले बताउनुभयो।

सरकारले यस वर्षको विद्यार्थी भर्ना अभियान ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ देशभर एकैसाथ शुरू गरेको छ।

प्रतिक्रिया दिनुहोस्