वीन्ड टर्वाइनप्रति आकर्षण



काठमाडांै, (नेस)
भृकुटीमण्डपमा जारी १३औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीमा हावाबाट बिजुली निकाल्ने यन्त्र अर्थात वीन्ड टर्वाइन आकर्षणको केन्द्र बनेको छ। मेलामा एभरेस्ट वीन्ड इनर्जी कम्पनीले उक्त यन्त्र प्रदर्शनीमा ल्याएको हो।

दक्षिण अफ्रिकामा निर्माण भएको उक्त यन्त्र अत्याधुनिक प्रविधिको रहेको कम्पनीका कार्यकारी अध्यक्ष डिल्लीराज पोखरेलले जानकारी दिनुभयो। एभरेस्ट वीन्ड इनर्जीले नेपालमा पहिलोपटक हावाबाट विद्युत् निकाल्ने यन्त्र प्रदर्शनीमा राखेको हो। त्यसैका कारण पनि प्रदर्शनीमा सर्वसाधारणको चासो बढेको हो। वीन्ड टर्वाइनको प्रयोगले सिँचाइका साथै पिउने पानी तान्न सकिने कम्पनीले जनाएको छ। अत्याधुनिक प्रविधिको उक्त माइक्रो वीन्ड टर्वाइनको प्रयोग घरको छतमा समेत राखेर विद्युत् निकाल्न पनि मिल्छ।

प्रारम्भिक लगानी सोलारभन्दा केही बढी भए पनि आयोजना मर्मत गर्नु नपर्ने तथा सोलारको तुलनामा अलभग दोब्बर बढी विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ। मुस्ताङलगायतका जिल्लामा यस प्रकारको प्रविधिको प्रयोगले व्यावसायिकरूपमा वायु ऊर्जा निकाल्न सकिने कम्पनीले जनाएको छ। वायु ऊर्जा उत्पादन गर्न सरकारले लगानीमैत्री वातावरण तथा अनुदानको व्यवस्था गर्नुपर्ने कम्पनीका अध्यक्ष पोखरेलको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्